• १५ मंसिर २०८१, शनिबार

पुलले दियो सुविधा

blog

छविलाल पाण्डे

बुटवल, पुस १२ गते  । रुपन्देहीको सैनामैना नगरपालिका–११, बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बिचमा पर्ने कञ्चन नदीमा पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। 

पुल बनेर यातायात सञ्चालन भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रका जनतालाई ठुलो सुविधा पुगेको छ। 

पुलको औपचारिक उद्घाटन हुन भने अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। सैनामैना–११, बिचौवापुरकी लक्ष्मी चौधरीले हरेक वर्षको वर्षायाममा कञ्चन नदीको बाढीले मानवीय क्षति गर्दै आएको स्मरण गर्दै पुलले स्थानीयमा खुसी लिएर आएको बताउनुभयो । 

पुल नभएकै कारण कञ्चन नदीले प्रत्येक वर्ष दुईदेखि तीन जना मानिस बगाउने गरेको स्थानीय बताउँछन्। कञ्चन गाउँपालिका लौसाका रमेश अधिकारीले कञ्चन नदीमा पुल निर्माण भएर आवतजावत हुन थालेपछि रुपन्देहीकै पर्यटकीय तालको पहिचान बनाएको दानापुर ताल क्षेत्रसम्म पुग्न सहज हुने र दानापुर तालको पर्यावरणीय विकासमा टेवा पुग्ने बताउनुभयो । 

पुल निर्माणले सैनामैनाको दक्षिण पश्चिम क्षेत्र र कञ्चनको दानापुर क्षेत्र भौगोलिक हिसाबले नजिक भएको र यस क्षेत्रका हजारौँ यात्रुलाई आवागमन गर्न सहज भएको उहाँको भनाइ छ । प्री स्टे«स प्रविधिमा निर्माण सम्पन्न भएको पुलको बिचमा कुनै पनि पिल्लर छैन। 

आठ करोड रुपियाँ लगानीमा पुल निर्माणका लागि गत वर्ष साउनमा ठेक्का सम्झौता भएको थियो। डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुर–४, चितवनले पुल निर्माणको ठेक्का पाएको थियो । पुलको लम्बाइ ४१.२० मिटर र चौडाइ ११ मिटर रहेको छ । 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पुल निर्माण सम्पन्न भई सञ्चालनसमेत भएकाले दुई पालिकाका हजारौँ जनतालाई सुविधा पुगेको बताउनुभयो । यसैबिच रुपन्देही क्षेत्र नं. ५ का पूर्वसांसद भरतकुमार शाहले निर्माण सम्पन्न भएको पुलको निरीक्षण गर्दै पुलको पहुँच मार्ग सानो भएकाले बढाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

स्थानीय जनताले पुलको पहुँच मार्ग सानो भएको गुनासो गरेपछि पूर्वसांसद शाहसहित कञ्चन र सैनामैनाका जनप्रतिनिधिले निर्माण सम्पन्न भएको पुलको अनुगमन गर्दै पुलको पहुँच मार्ग बढाउने आश्वासन दिनुभएको हो ।