• १२ मंसिर २०८१, बुधबार

अवैध क्रसर सञ्चालनले जोखिममा बस्ती

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस १२ गते । राज्यका नीति, नियमविपरीत र स्थानीयको विरोध हुँदाहुँदै पनि सुर्खेतमा निर्बाध रूपमा क्रसर तथा बालुवा प्रशोधन सञ्चालनमा रहेका छन् । पटक पटक बन्द गर्न आग्रह गर्दा पनि दर्ताबिनाका क्रसर सञ्चालनमा रहेको पालिकाले जनाएका छन् । 

पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–२, थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजतबिनै सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले दिएको जानकारी अनुसार हिमाल बालुवा प्रशोधन उद्योग, देउतीमाता बालुवा प्रशोधन उद्योग, रामजानकी प्रशोधन उद्योग र केसी बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् । 

अवैध उद्योग सञ्चालनले भेरी नदी किनारको बस्ती नै जोखिममा परेको वराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार करिब चार सय घर जोखिममा छन् । थापाडेरा, पाग्म, रानीघाट, डोप्काका गरी करिब चार सय घर जोखिममा परेका हुन् । नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्न बारम्बार भनिएता पनि अटेरी गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन र जिल्ला समन्वयबाट पटक पटक अनुगमनमा आए पनि कुनै पनि कारबाही प्रक्रिया अघि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ । जिल्लाको टोलीले अनुगमन गर्नुबाहेक कुनै पनि कानुनी प्रक्रियामा नगएको अध्यक्ष भण्डारीले बताउनुभयो । नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बन्द गर्ने पक्षमा पालिका रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार एक वर्षदेखि उत्खनन बन्द भएको छ, अहिले निकालिएको सामान मात्र बिक्री भइरहेको हो तर विभिन्न शैलीमा उत्खनन भइरहेका छन् । पालिकाले गिट्टी, बालुवा बिक्री गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ । चोरी हुने डरले टेन्डर खोल्न नसकिएको अध्यक्ष भण्डारी बताउनुहुन्छ । प्रशासनबाट नियमन प्रभावकारी नभएको उहाँले बताउनुभयो । पालिकालाई क्रसर उद्योग हटाउन अधिकार भए पनि जनशक्ति नहुँदा समस्या भएको छ । अहिले पनि रातिमा विभिन्न शैलीमा उत्खनन भइरहेको उहाँले जानकारी दिनुभयो । 

पूर्वी सुर्खेतको लेकबेँसी नगरपालिका–१, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन भइरहेका छन् । कारबाही गर्ने निकाय नहुँदा खुलेयाम क्रसर उद्योग सञ्चालन भइरहेको लेकबेँसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले बताउनुभयो । नगरपालिकाको वडा नं. १ मा सञ्चालित भेरी बालुवा प्रशोधन उद्योग, वडा नं. ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग र वडा नं. ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योग सञ्चालन भइरहेका छन् ।

नगरपालिकाले पटक पटक सचेत गराउँदा  समेत उद्योगले अटेरी गरेको प्रमुख पौडेल बताउनुहुन्छ । अनुगमन टोली आएको पाँच/सात दिन उद्योग बन्द गरे जस्तो गर्ने, पुनः सञ्चालन हुने गरेको नगरपालिकाले जनाएको छ । प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको भए पनि अनुगमन गर्नेबाहेकका कानुनी प्रक्रिया नभएको नगर प्रमुख पौडेलले बताउनुभयो । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुँदा कारबाही प्रक्रिया अघि बढाउनसमेत चुनौती रहेको उहाँको भनाइ छ । लेकबेँसीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगले रातिको समयमा ढुङ्गा, गिट्टीको लुकीछिपी उत्खनन तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले नियमविपरीत सञ्चालनमा आएका क्रसर उद्योग बेला बेला अनुगमन गरी बन्द गर्न भनिएको भए पनि अटेर गर्दै आएको बताउनुभयो । उहाँले सुर्खेतमा ११ वटा इजाजतबिनै सञ्चालनमा आएका उद्योग रहेको पाइएको जानकारी दिनुभयो । कारबाही गर्ने अधिकार नहुँदा आवश्यक निर्देशन मात्र दिने काम भइरहेको उहाँको भनाइ छ । कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले जानकारी दिनुभयो । नदीजन्य पदार्थमा आधारित उद्योग तथा त्यसको उत्खनन, सङ्कलन र बिक्रीवितरणको समेत अनुगमन गरी मापदण्डविपरीत गतिविधि भए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । यसबिचमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले फाट्टफुट्ट अनुगमन गरेको छ । त्यो प्रभावकारी हुन सकेको छैन । विभिन्न समयमा अनुगमनपश्चात् उद्योगलाई कारबाहीका लागि परिपत्र गर्ने गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी सूर्यबहादुर थापाले बताउनुभयो ।