दोलखा समाचारदाता
दोलखा, पुस ९ गते । निर्माण व्यवसायीले नवनिर्मित भवनमा बत्तीको विद्युत् (ट्रान्समिटर लाइन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकीले नौ वर्षदेखि टहरा र भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ ।
दोलखाको विगु गाउँपालिका–५, चिलङ्खामा नवनिर्मित स्वास्थ्य चौकी भवनमा ट्रान्समिटर लाइन जडान गर्न नसकेपछि वि.सं. २०७२ मा निर्माण गरिएको जस्तापाताको टहरा र भाडाको घरबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष कर्मा (काले) शेर्पाले बताउनुभयो ।
भूकम्पपछि सोही वडाको ढाकरेबोटमा स्वास्थ्य चौकीका लागि नवनिर्मित भवन निर्माण व्यवसायीले समयमै हस्तान्तरण गर्न नसकेपछि यसरी स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको हो । निर्माण व्यवसायीले दसैँको समयमा हस्तान्तरण गर्ने सम्झौता गरे पनि अहिलेसम्म हस्तान्तरण गरेका छैनन् । मुख्य ठेकेदारको खोजी भइरहेको छ । ठेकेदारसँग प्रत्यक्ष संवाद गरी छिट्टै भवन सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
निर्मित भवन सञ्चालनमा आउन नसक्दा सुत्केरी गराउन, क्षयरोगको बिरामीलाई औषधी वितरण, खोप कार्यक्रम, परिवार नियोजन र दैनिक जाँचमा समस्या भोग्नु परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नौ जनालाई सुत्केरी गराइएको छ । स्वास्थ्य चौकीको संरचनामा निर्माण भएको भवनमा सर्न नसकेकै कारण दुईकोठे घर मासिक तीन हजार रुपियाँमा भाडामा लिएर बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
रातिको समयमा बर्थिङ सेवा लिन आउनेले समयमा स्वास्थ्यकर्मी भेट्न पनि गाह्रो भइरहेको छ । दुईकोठे भवनमा बर्थिङ स्टाफ बस्ने व्यवस्था नहुँदा घर घरमा बोलाउन जानुपर्ने बाध्यता सेवाग्राहीले भोग्दै आएका छन् । स्वास्थ्य चौकीले अहिले पनि दैनिक १५ जनाभन्दा बढीलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।
दोस्रो चरण अन्तर्गत १० प्याकेजमा भारतीय दूतावासको २४ करोड ४९ लाख ६७ हजार रुपियाँ लगानीमा बोच, लाँकुरीडाँडा, लामीडाँडा, लापीलाङचौकी र आयुर्वेद, झ्याकु, चिलङ्खा, बिगु, मार्बु र भेडपु आयुर्वेद भवन निर्माणाधीन अवस्थामा छन् ।