• १२ मंसिर २०८१, बुधबार

बालविवाह बढ्दो

blog

स्वास्थ्य परीक्षणमा आएका सुनौला हजार दिनका आमा । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, पुस ९ गते । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो छ । बारेकोट गाउँपालिकाभरि बालविवाह हुने गरेको पाइएको छ । कोही भागेर त कसैको अभिभावककै सहमतिमा बालविवाह हुने गरेको छ । यहाँ बालविवाह रोकथामका लागि सचेतीकरणका कार्यक्रम नभएका कारण पनि बालविवाह बढेको देखिन्छ । 

प्रायः किशोरी आमा बनेका छन्। केही किशोरी आमा बन्ने तरखरमा छन् । बारेकोट गाउँपालिका–१, रामीडाँडा स्वास्थ्य चौकीमा सेवा लिन आएका ७६ जना सुनौला हजार दिनका आमामध्ये ३५ जना किशोरी उमेरका महिला कसैले काखमा बच्चा च्यापेका थिए, कोही गर्भवती थिए । बारेकोट–१, रामीडाँडाकी राधिका रोकाया वर्षले १७ पुग्नुभयो । रोकायाको काखमा एक वर्षको बच्चा छ । अभिभावककै सहमतिमा आफूले १५ वर्षको उमेरमा विवाह गरेको राधिकाले बताउनुभयो । १९ वर्षकी स्नेहा रोकाया गर्भवती हुनुहुन्छ । रोकायको पेटमा आठ महिनाको गर्भ हुर्किरहेको छ । रोकायाले आफूले अभिभावककै सहमतिमा विवाह गरेको बताउनुभयो । 

२६ वर्षको उमेरमा चार बालबालिका जन्माइसकेका महिला, १६ वर्षदेखि २० वर्षसम्मका महिला गर्भवती र बच्चा जन्माएका महिला कालीकोटमा प्रायः भेटिन्छ । बालविवाह गर्नु हुँदैन भनेर खासै सचेतीकरण कार्यक्रम सञ्चालन नभएकाले यस्तो भएको स्थानीयको भनाइ छ । दुई बालबालिकाकी आमा हिमाली नेपाली उमेरले २१ वर्ष पुग्नुभयो । उहाँले बालविवाह गर्नु हुँदैन भनेर गाउँमा चेतना नभएकै कारण सानै उमेरमा विवाह हुने गरेको बताउनुभयो। 

बारेकोट गाउँपालिका–५ का दानबहादुर सिंहले सानै उमेरमा विवाह गर्ने पुरानै चलन कायम रहेको बताउनुभयो । ७६ वर्षीय सिंहले खासै कानुनी रूपमा यति वर्ष उमेर पुगेकाले विवाह गर्ने हो भनेर जानकारी दिने निकायको अभाव भएको बताउनुभयो । पूर्ववडाध्यक्ष अजवीर सिंहले बजेट अभावमा बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गर्न नसकिने बताउनुभयो । भूकम्प प्रभावितको सहयोगका लागि बारेकोट कार्यक्षेत्र बनाएको किर्डाकले अब बालविवाहविरुद्धको अभियान पनि थाल्ने बताइएको छ ।

किर्डाक नेपालका कार्यक्रम संयोजक गोविन्द कठायतले भूकम्प प्रभावितका लागि अस्थायी टहरासँगै बालविवाह, महिला हिंसा, गुणस्तरीय शिक्षालगायतका क्षेत्रमा कार्य गर्ने जानकारी दिनुभयो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बालविवाह, महिला हिंसा जस्ता सामाजिक अपराधका घटना नियन्त्रणका लागि कर्मचारी र कार्यपालिका सदस्यलाई निर्देशन दिँदै आएको बताउनुभयो ।