• १३ असोज २०८१, आइतबार

तीन विद्यालयमा अक्षयकोष स्थापना

blog

रमेश विश्वकर्मा
गुल्मी, पुस ९ गते ।
 गुल्मीको रेसुङ्गा नगरपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । यहाँको वडा नम्बर– १०, ११ र १२ मा रहेका तीन वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । विशेषगरी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्य राखेर अन्य खर्चलाई कटाएर तीन वटा विद्यालयमा अक्षयकोषदाताहरुले अक्षयकोष स्थापना गर्नुभयो ।

वार्षिक व्याजबाट प्राप्त रकमले प्रत्येक वार्षिक परीक्षाफल प्रकाशन वा विद्यालयको वार्षिकोत्सव समारोहमा अक्षयकोषको रकम विद्यार्थीलाई प्रदान गरिने अक्षयकोषदाताहरुले बताउनुभयो । रेसुङ्गा नगरपालिका वडा नम्बर–११ गुणाखर पाण्डे र उहाँकी लक्ष्मी हमाल पाण्डेले आफ्नो विवाहमा भोज नगरी बचत गरेको नगद एक लाख रुपियाँ सोही वडाका दुई विद्यालयमा अक्षयकोष स्थापना गर्नभयो ।

पाण्डेले आफूले अध्ययन गर्नुभएको सोही वडाको राङबास माध्यमिक विद्यालयमा बुवाआमाको सम्मानमा ५० हजार रुपियाँ बराबरको पर्शु–मालती जेहेन्दार विद्यार्थी अध्ययन छात्रवृत्ति पुरस्कार अक्षयकोष स्थापना गर्नुभयो ।

वडा नम्बर– १० मा रहेको भगवती माध्यमिक विद्यालयमा उहाँ र उहाँकी श्रीमतीले अध्ययन गर्नुभएको थियो । हाल यस विद्यालयमा उहाँकी श्रीमतीले अध्यापन गराउँदै आउनुभएको छ । उहाँहरूले यस विद्यालयमा स्व. मनिकला हमालको स्मृतिमा ५० हजार रुपियाँ बराबरको जेहेन्दार विद्यार्थी अध्ययन छात्रवृत्ति पुरस्कार अक्षयकोष स्थापना गर्नुभयो । स्व. मनिकला हमाल गुणखरको सासुआमा र लक्ष्मीको आमा हुनुहुन्छ ।

त्यस्तै, वडा नम्बर– १२ मा रहेको रानीपोखरी आधारभूत विद्यालयमा पनि ५० हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ । स्व. नरबहादुर बस्नेतको स्मृतिमा उहाँकी श्रीमती दुबकला बस्नेत, छोराहरू रामबहादुर, मीनराज, युवराज, सुदिप, सुरेन्द्र, दीपक बस्नेत, छोरी सिता बस्नेत (थापा), बुहारीहरू तथा नातिनातिनाहरू लगायतको घरपरिवारले यस विद्यालयमा नरबहादुर तथा दुबकला बस्नेत शैक्षिक पुरस्कार नामक अक्षयकोष स्थापना गर्नुभयो ।

प्रत्येक वर्ष सबै शिक्षक तथा कर्मचारीको पालो नपुगुन्जेलसम्म नदोहोरिने गरी विद्यालय व्यवस्थापन समिति र अक्षयकोषदाताको सिफारिसमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने एक जना शिक्षक कर्मचारी र विद्यालयको वार्षिक परीक्षामा कक्षा–८ मा गणित विषयमा सर्वोत्कृष्ट

अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने रामबहादुर बस्नेतले बताउनुभयो ।