कालीकोट समाचारदाता
कालीकोट, पुस ९ गते । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–२, रकुका अविलाल विष्टले गाउँमै चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । खाडी देश कतारमा दुःख पाएपछि विष्ट गाउँ फर्केर आफ्नो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । गाउँकै स्कुलमा पढ्दै गर्दा वैदेशिक यात्राका लागि कतार पुग्नुभएका विष्टले आफ्नो देशको प्रेम बल्ल थाहा पाउनुभयो र फर्किनुभयो ।
राम्रै आम्दानी भए पनि उहाँलाई मनमा शान्ति भने कहिले भएन । उहाँका लागि विदेशको रोजगारी यात्रा यो जिन्दगीको नयाँ अध्याय भएको बताउनुहुन्छ । उहाँले कतारको यात्रा तीन वर्षमा सकेर नेपाल फर्केर कृषिलाई आफ्नो नयाँ कर्म बनाउने निधो गर्नुभयो । धेरै सोचका बिच सुर्खेतमा अर्गानिक भान्साघर व्यापार व्यवसाय सुरु गरेको सुनाउनुभयो ।
तर, व्यवसाय चलेन । “एकातिरको लक्ष्य लिएको म अर्कोतिर काम गर्दा कहाँ मन लाग्नु ? तीन महिना व्यापार गरेपछि कुनै आशाको किरण नदेखेर व्यापार छाडी पुनः धनकै लागि विदेश जाने सोच बनाएँ,” उहाँले भन्नुभयो, “केही रकम आर्जन गरेर ल्याएको व्यवसायमा लगाएको थिएँ तर त्यो चलेन । खाडीको पीडा बिर्सन नसकेका कारण गाउँघरमै केही कृषि उद्योगतर्फ मन गयो । घरपरिवारसँग सरसल्लाह गरेर आफ्नै गाउँ रकुमा चाउमिन उद्योग सञ्चालन गर्ने सोच बनाएर सुरु गरेँ ।”
दुई लाख रकम जम्मा गरेर उहाँले प्रकृति चाउमिन उद्योगको सुरुवात गर्नुभयो । व्यवसाय सञ्चालनकै क्रममा साना किसान लघुवित्त वित्तीय संस्थामार्फत तालिम लिने अवसर पनि मिल्यो ।
अहिले दैनिक ४० देखि ५० किलोसम्म चाउमिन बिक्री हुने गरेको छ । खाडीको दुःख सम्झिने हो भने स्वदेशमै सुन फलाएको जस्तो लाग्छ उहाँलाई । मासिक रूपमा ५० हजारदेखि ६० हजारसम्म कमाइ हुन्छ ।