• १३ मंसिर २०८१, बिहिबार

जुनार उत्पादन बढेपछि किसान दङ्ग

blog

बाबुराम देवकोटा

तीनकन्या (सिन्धुली), पुस ९ गते । गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रोपनी जमिन यतिखेर जुनारले पहेँलपुर बनेको छ । उहाँलाई हरेक दिन जुनार टिपेर बिक्रीका लागि बजार पठाउन भ्याइनभ्याइ छ । 

गत वर्षको तुलनामा यो वर्ष जुनार उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । “यो वर्ष अहिलेसम्म छ लाख रुपियाँ जतिको जुनार बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “गत वर्ष जुनारबाट १८ लाख रुपियाँ जति लिएको थिएँ । यो वर्ष २० लाख रुपियाँ होला जस्तो छ ।” जुनार किन्न व्यापारी बगैँचामै आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उहाँले सुनाउनुभयो । 

बगैँचाबाटै जुनार प्रतिकेजी दाना अनुसार ५० देखि ६० रुपियाँका दरले बिक्री भइरहेको जुनार किसान ठकुरीले बताउनुभयो । सिन्धुलीको जुनार खेतीको पकेट क्षेत्र सबै ठाउँमा कच्ची भए पनि सडक पुगेकाले किसानलाई जुनार बिक्री गर्न कुनै समस्या छैन । 

किसान भुजेलले जुनार बिक्री गरेर करिब २० लाख रुपियाँ आम्दानी लिइसक्नुभएको छ । अरू किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ हुँदा उहाँले सबै जुनार बिक्री गरी बगैँचा खाली गरिसक्नुभएको छ । 

“जुनार र सुन्तलाका गरी २० रोपनीको बगैँचा छ, त्यसमध्ये १५ रोपनीमा गरेको जुनार खेतीले फल दिइरहेको छ,” किसान भुजेलले भन्नुभयो, “अरू पाँच रोपनीमा भर्खर रोपेका बिरुवा छन् । ती बिरुवाले पनि अबको दुई/तीन वर्षमा फल दिन सुरु गर्छन् ।” 

सिन्धुलीको जुनारमा विगत केही वर्षदेखि फल कुहाउने औँसा किराको प्रकोप देखिएको छ । जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । लटरम्म फलेका जुनारका दानाले गाउ“का बगैँचा र बिपी राजमार्ग आसपासका बजार नै पहेँलपुर बनेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनले जुनार खेतीमा यो वर्ष गरेको स्थलगत सर्वेक्षण अनुसार जुनार खेतीमा सुँढे पुतलीको प्रकोपका कारण कुल उत्पादमा १५ प्रतिशत क्षति पुगेको छ । जिल्लामा एक हजार ५० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ । त्यसमध्ये ७५० हेक्टरमा गरिएको जुनार खेतीले उत्पादन दिने गरेको छ ।