काठमाडौँ, पुस ९ गते । एक वर्षको अन्तरमा करिब दुई लाख व्यक्तिगत करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा एक लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएर करदाताका रूपमा आफूलाई दर्ता गराएका हुन् । सोही अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन् । त्यस्तै एक वर्षभित्र दुई हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार सबै किसिमका करदाता गरेर मुलुकमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५७ लाख ९७ हजार ३४६ पुगेको छ । २०७९ कात्तिकमा ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा एक वर्षमा दुई लाख ४३ हजार ३२० करदाता थपिँदा कुल करदाताको सङ्ख्या करिब ५८ लाख पुगेको हो ।
एक वर्षको अवधिमा नयाँ करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । यससँगै मूअ करमा दर्ता हुनेको सङ्ख्या तीन लाख १८ हजार ३६२ पुगेको छ । गत वर्ष कात्तिकमा यस्तो सङ्ख्या तीन लाख आठ हजार ४७७ थियो । त्यस्तै यसबिचमा चार हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन् । योसहित मूअ करमा दर्ता हुनेको सङ्ख्या एक लाख २१ हजार ३१६ पुगेको छ ।
सरकारले करको दरभन्दा दायरा वृद्धि गर्ने लक्ष्य अनुसार करदाताको सङ्ख्या बढाउने गरी कार्यक्रम कार्यान्वयन गरेको छ । दुई हजार रुपियाँभन्दा बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि त्यसले पनि करदाताको सङ्ख्या बढाउन उल्लेख्य भूमिका पुगेको देखिन्छ । करदाताको सङ्ख्या बढे पनि करिब ३० प्रतिशतले भने शून्य कर विवरण बुझाएको आन्तरिक राजस्व विभागको तथ्याङ्क छ । जसले गर्दा करदाताको दर्ता बढे पनि कर राजस्व वृद्धि भने सो अनुरूप बढ्न नसकेको विभागले जनाएको छ ।