• १३ मंसिर २०८१, बिहिबार

१३८ किलो सुन ल्याएको खुलासा

blog

काठमाडौँ, पुस ९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । मङ्सिर २१ गते राति युनाइटेड अरब इमिरेट्स दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई विमानका यात्रु गोरखा, बारपाकका चन्द्र घलेका साथबाट विमानस्थल भन्सार कार्यालयले १४ केजी सुन बरामद गरेको थियो ।  

छानबिनका क्रममा समितिले विमानस्थलका सरसफाइ कर्मचारी शेरबहादुर बस्नेत, सुशीला पाण्डे र गणेश चेपाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो सुन प्रक्ररणको छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो ।  

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले छानबिन प्रतिवेदनमा समितिले १४ केजी सुन प्रकरणका मुख्य आरोपी मीन घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको जानकारी दिनुभयो । छानिबिन प्रतिवेदनमा घलेले दुबईमा रहेका अङ्कित अग्रवाल भन्ने व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गरेको, चन्द्र घले र कृष्णकुमार श्रेष्ठसमेतले पटक पटक दुबईबाट सुन लिई आउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मीन घलेले विमानस्थलमा सेटिङ मिलाउन डिबी भनिने दानबहादुर गुरुङलाई प्रयोग गरेको, सुन बाहिर ल्याउन नागरिक उड्डयन कार्यालय, गौचरका मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करार कर्मचारी रमेश देउला, अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले समेत भूमिका खेलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।