सिराज खान
नेपालगन्ज, पुस ८ गते । आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका –१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन भएको सो निःशुल्क स्वास्थ्य शिविरमा ६५१ जना विभिन्न रोगका बिरामीले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख उदिप श्रेष्ठले बताउनुभयो ।
उहाँले ओपीडी सेवा लिने विरामीको संख्या सबैभन्दा धेरै रहेको जनाउँदै ४०१ जनाले ओपीडी सेवा लिएको बताउनुभयो । त्यसमा महिलाको संख्या २६२ र पुरुषको संख्या १३९ रहेको थियो ।
प्रमुख श्रेष्ठका अनुसार त्यसैगरी उपचारात्मक योग सेवा ४० जनाले लिएका छन् भने ७३ जनाको सुगर परीक्षण गरिएको छ । यस्तै पञ्चकर्म सेवा ५६ जनाले, जेष्ठ नागरिक सेवा ६२ जनाले र स्तनपायी (प्रसूति महिलालाई दुग्धवर्धक औषधि वितरण) सेवा १९ जनाले लिएको पनि केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।
आयुर्वेदिक चिकित्सक डा. विपी रेग्मी, डा. गीता रेग्मीसहितको स्वास्थ्यकर्मीको टिमले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । कोहलपुर –१२ र १३ लाई लक्षितगरी आयोजना गरिएको सो शिविरको कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद विकले उद्घाटन गर्नुभएको थियो ।
कोहलपुर नगरपालिका १२ का वडा सदस्य पानसरा बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा १३ का वडाअध्यक्ष डम्वर खड्का, अन्य जनप्रतिनिधि, बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।
आयुर्वेद औषधिको कुनै पनि साइड इफेक्ट नभएको र यसले रोगलाई जरैबाट निर्मुल पार्ने भएकाले बढीभन्दा बढीलाई यो पद्धतिको उपचारमा संलग्न हुन आग्रह गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र कोहलपुरका प्रमुख श्रेष्ठले बताउनुभयो ।