चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ८ गते। सुनसरीको चक्रघट्टी फुटबल क्लब ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा तेह्रथुमको आठराई गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फाइनल प्रवेश गरेको हो।
आयोजक टोली कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई पराजित गर्दै चक्रघट्टी सुनसरी सेमिफाइनल पुगेको थियो। अब सोमबार हुने दोस्रो सेमिफाइनल खेल पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुने छ। झापाको जलथल फुटबल क्लबलाई पराजित गर्दै पाँचथर र बीटी फुटबल क्लब तेह्रथुमलाई पराजित सगरमाथा युथ क्लब सेमिफाइनल पुगेका हुन्।
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङा वोरक सङजुम्भो फुङ्लेङको संयुक्त आयोजनामा गत बुधबारदेखि फुटबल प्रतियोगिता जारी रहेको छ। गोल्डकपको फाइनल पुस ११ गते बुधबार हुने र गोल्डकप विजेताले तीन लाख दुई हजार ८० रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ।
यस्तै उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ एकलाख ५१ हजार ८० रुपियाँ नगद राशि पाउने चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभयो। चासोक तङ्नामको अवसरमा फुटबल प्रतियोगितासँगै लिम्बू संस्कृतिमा आधारित धान नाच, च्याब्रुङ नाचसहितका कार्यक्रमहरु पनि आयोजना गरिएको छ।