• १२ असोज २०८१, शनिबार

पुरैनी तालमा २८ प्रजातिका आगन्तुक चरा

blog

पुरैनी तालमा रमाइ रहेका चरा । तस्बिर : हिरुलाल डङ्गौरा

अविनाश चौधरी

धनगढी, पुस ८ गते । कञ्चनपुरस्थित पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर बेलौरी नगरपालिका–६ स्थित भुराकोटमा रहेको यो ताल २८ बिघा जमिनमा फैलिएको छ । 

तालमा सुनजुरे हाँस, मालक, कालीजुरे, हरियो टाउके, सिन्दुरे, बिजुलागैरो, खडखडे, बेल्चाठुँडे हाँससहित श्वेताँखीभौं, सुईरो पुच्छ«े, सिउरे डुबुल्की चरा, ठुलो जलेवा लगायतका आगन्तुक चरा यसवर्ष आएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । 

पुरैनी तालमा आगन्तुक र स्थानीयस्तरमा पाइने गरेर ५५ प्रजातिका जलपन्छी पाइने गरेको जनाइएको छ । यो तालमा देखिएकामध्ये कैलेटाउके हाँस, सारस विश्वमै दुर्लभ र भुँडीफोर गरुड सङ्कटको नजिक रहेको पन्छी हुन् ।   

“ठुला सिमसारभन्दा तुलनात्मक रूपमा कम क्षेत्रफल रहेको पुरैनी तालमा यति धेरै जलपन्छी अभिलेख हुनु खुसीको कुरा हो” डङ्गौराले भन्नुभयो, “तालमा पुग्ने जोकोहीलाई यी चराले लोभ्याउने गर्छन् ।”