• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपतिलाई यौन पीडकको पक्ष लिएको आरोप

blog

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

लन्डन, पुस ५  गते ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।     

राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नु परेको छ । 

फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ ।     

बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको ‘सर्वोच्च राज्य पुरस्कार’ खोस्नु पर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उहाँले आफू त्यसको पक्षमा नभएको बताउनु भएको थियो । 

डेपार्डियोले करिब तीन दशक अघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गर्नु भएको थियो ।     

राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उहाँको आलोचना शुरु भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उहाँको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् ।     

करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खला बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि धेरै महिलाले यौन उत्पीडन र आक्रमण गरेको आरोप लगाएका थिए।     

सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको शुरुमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो ।     

यता नारीवादी सङ्गठनले म्याक्रोनका टिप्पणीहरू यौनहिंसा भोगेका सबै महिलाहरूका लागि ‘अपमान’ भएको बताएका छन् । राष्ट्रपतिका यस्ता अभिव्यक्तिले यौनहिंसा पीडितको मनोबल खस्किने र पीडामाथि पीडा थपिने भन्दै विभिन्न सङ्गठनका प्रतिनिधिहरू थप उत्तेजित भएका छन् ।     

ग्रीन पार्टीकी सांसद स्यान्ड्रिन रुसोले राष्ट्रपतिको उक्त टिप्पणीलाई यौन हिंसा पीडितहरूलाई आवाज दिने आन्दोलनको अपमानू भएको बताउनु भएको छ । 

त्यस्तै, महिला फाउन्डेसन नामक संस्थाकी प्रमुख आनी–सेसिल मेलफर्टले पीडितहरूप्रति यो कति अपमानजनक र घृणित छ र समयभन्दा कति पछाडि छ भनेर भन्न एकल ट्वीट पर्याप्त छैन भन्ने टिप्पणी गर्नु भएको छ ।     

फ्रान्स २ टेलिभिजन च्यानलले अभिनेतालाई उनको २०१८ को उत्तर कोरियाको यात्रामा महिला दोभाषेको उपस्थितिमा बारम्बार स्पष्ट यौन टिप्पणीहरू गरेको र घोडामा सवार सानी केटीलाई यौन शोषण गरेको देखाएको छ।     

पूर्व राष्ट्रपति फ्रान्कोइस ओलान्डले बिहीबार फ्रान्स इन्टर प्रसारकसँगको कुराकानीमा उक्त फुटेज हेरेपछि आफूलाई जेरार्ड डेपार्डियोप्रति सम्मान नरहेको बताउनु भएको छ ।     

यद्यपि अक्टोबरमा अभिनेताले आफ्ना विरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।     

गत हप्ता, फ्रान्सेली संस्कृति मन्त्री रिमा अब्दुल मलाकले अभिनेताको व्यवहारले फ्रान्सलाई लाजमर्दो बनाएको टिप्पणी गर्नुभएको छ । अभिनेताले सन् १९९६ मा प्राप्त गरेको देशको शीर्ष पुरस्कार लिजन डीअनरबाट खोसिन सक्ने खालको आशय अभिव्यक्त गर्नु भएको थियो ।     

तर बुधवारको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले मन्त्रीको सो टिप्पणीलाई यथार्थबाट बहकिएको हुनसक्ने बताउनु भएको थियो । सो डकुमेन्ट्री प्रसारित भएदेखि उनको परिवार सञ्चार माध्यमबाट टाढा छ र विक्षिप्त छ ।  रासस, एएफपी