काठमाडौँ, पुस ५ गते । आर्मीका अभय महरा दोस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु–१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।
बिहीबार भएको खेलमा अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१–१५, २१–१३ ले र यु–१७ मा नेपाल पुलिस स्कुलका ईशान गिरीलाई २१–७, २१–७ को समान अन्तरले हराउनुभयो ।
यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल्ल महर्जनले एपिएफका अमन महर्जनलाई २१–८, २१–४ ले तथा एपिएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१–१५, २१–९ ले पराजित गर्नुभयो ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने अन्यमा नेपाल पुलिसका विष्णु कटुवाल, एपिएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्य हुनुहुन्छ ।
कटुवालले एपिएफका सुजन थापालाई २१–११, २१–११ को समान अन्तरमा, देव रानाले एपिएफका अरुण अधिकारीलाई २१–२३, २१–१५, २१–१५, रोशन साउदले सेनाका सुविन श्रेष्ठ (बी) लाई २१–१७, १७–२१, २१–९, डेभिडले एपिएफका अनिल मल्ललाई २१–११, २१–६, जीवनले एपिएफका भोज बहादुर गुरुङलाई २१–१५, २२–२० ले पराजित गर्नुभयो ।
शीर्ष २० वरीयता बाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१–११, २६–२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१–१३, २१–१२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।