• २ कात्तिक २०८१, शुक्रबार

सप्तरीमा भकारी राख्ने चलन हराउँदै

blog

तराई-मधेशका जिल्लमा धान भण्डारण गर्न बाँसबाट बनाइने भकारी । तस्बिर : देवरामप्रसाद यादव ।

देवरामप्रसाद यादव

सप्तरी, पुस ५ गते । तराई-मधेशका जिल्लामा धान भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ हराउँदै गएको छ । अहिलेको आधुनिकताको कारण बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य सामग्री पाइन थालेपछि धान भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।  

अन्न भण्डारको रूपमा मानिने तराई–मधेशमा धान भण्डारण गर्न बाँसबाट निर्मित भकारी घरको आँगन वा खाली स्थानमा राख्ने प्रचलन पहिले धेरै थियो । भकारीमा पानी पस्नबाट जोगाउन टाँड बनाई जमिनको सतहभन्दा माथि राखिन्थ्यो । खरको छानो हालिन्थ्यो । महादेवा गाउँपालिका-६ का जेष्ठ नागरिक छोटकैन यादवका अनुसार भकारीलाई शुभ मानिन्थ्यो । उहाँले भकारी पूजा गरेपछि मात्रै धान भण्डारण गर्ने चलन रहेको बताउनुभयो । बढ्दो आधुनिकताले अहिले परम्परागत भकारी हराउन थालेको उहाँको दुखेसो छ । 

गाउँका किसानले अचेल धान, गहुँ, मकै लगायतका अन्न राख्न भकारीको प्रयोग निकै कम हुने गरेको छ । प्लास्टिक तथा जस्तापाताबाट निर्मित वस्तु वा जुट तथा प्लास्टिक बोरामा अनाज राख्न थालिएको स्थानीय चुनाई यादवले बताउनुभयो । उहाँले तराई–मधेशमा धेरै जमिन हुने जमिनदारदेखि मध्यम परिवारका किसानले पहिले भकारी राख्ने चलन बिस्तारै हराउँदै गएको बताउनुभयो । 

अहिले परम्परागत भकारी जीर्ण अवस्थामा भेटिने गरेको स्थानीय राधेश्याम यादवले बताउनुभयो । तिरहुत गाउँपालिका-५ लौहजाराका किसान डम्बर नारायण झगरैतका अनुसार जमिनदार वा साहु महाजन भनेर चिनाउन भकारी घर बाहिर राख्ने परम्परा रहेको बताउनुहुन्छ । उहाँले सो परम्परा जोखिमयुक्त देखिन थालेपछि राख्न छाडिएको बताउनुभयो । स्थानीय रामदेव मण्डलका अनुसार चोरी हुने, भकारीमा मुसा लाग्ने, पानीले अन्न सडने लगायका जोखिम भएपछि परम्परागत भकारी हराउन थालेको बताउनुभयो  ।

मुखिया, डोम (मरीक) समुदायका मानिसले बनाउने गरेको भकारी लोप हुँदै गएपछि आम्दानीको स्रोत समेत घट्ने गरेको महादेवा गाउँपालिकाका १ पकरीका धनेश्वर मरीकले बताउनुभयो । उहाँले बाँसका अन्य सामग्रीभन्दा भकारी बढी मूल्यमा बिक्री हुने गर्थ्यो तर अहिले यो चलन नै हराएकोमा आफूहरूको आम्दानीको स्रोतमा समेत ह्रास आएको बताउँछन् ।