• १२ मंसिर २०८१, बुधबार

म्याग्दीका युवामा भलिबल खेलको क्रेज बढ्यो

blog

धवलागिरि गाउँपालिका ७ सिवाङमा आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै विद्यार्थीहरु । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस ५ गते । म्याग्दीमा पछिल्लो समय भलिबल खेलप्रति युवाहरूमा आकर्षण बढेको देखिएको छ । स्थानीय सरकार, विद्यालय र विभिन्न सङ्घ संस्थाहरूले भलिबल खेलको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण, प्रशिक्षण, तालिम र विभिन्न समयमा प्रतियोगिता आयोजना गर्न थालेपछि भलिबल खेलप्रति युवाहरूको क्रेज बढेको हो । 

सङ्घीयता कार्यान्वयन सँगै स्थानीय सरकार सञ्चालनमा आएपछि पालिका स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिता, विभिन्न सङ्घ संस्थाहरूको आयोजनामा ग्रामीण भेग तथा जिल्ला स्तरमा हुने भलिबल प्रतियोगिता बढ्न थालेका कारण युवाहरूमा भलिबल खेलको आकर्षण बढेको म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तथा भलिबलका प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो । भलिबलका खेलाडीहरू उत्पादन गर्न पालिकास्तरमा प्रशिक्षा र तालिम सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । 

प्रत्येक वर्ष पालिका स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण पनि विद्यालय स्तरमा भलिबल खेलप्रति आकर्षण बढेको उहाँले बताउनुभयो । पालिका स्तरमा आयोजना भएका प्रतियोगिताहरूमा भलिबल खेलप्रति युवाहरूको आकर्षण देखिएको छ उहाँले भन्नुभयो, ‘‘विद्यालय स्तरमा भलिबलका प्रतिभाशाली खेलाडीहरूको  उत्पादन भएका छन् । जिल्ला भलिबल सङ्घले विद्यालय तथा पालिका स्तरमा भलिबलका खेलाडीहरूलाई तालिम र प्रशिक्षण उपलब्ध गरेका छौँ । साथै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन तथा प्रोत्साहन गर्न अन्तरमावि स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछौँ ।’’

जिल्लाबाट राष्ट्रिय स्तरमा खेलाडीहरू उत्पादन भएकाले पनि पछिल्लो समय युवाहरूमा भलिबलखेलप्रति आकर्षण बढेको जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँले बताउनुभयो । नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएर खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुले पछिल्लो समय भलिबल खेलको विकास हुनथालेको उहाँको भनाई छ । 

म्याग्दीकी खेलाडी  अरुणा शाही राष्ट्रिय महिला भलिबलको टिम कप्तान र पुरुष भलिबलको मुख्य सेटरको भूमिकामा सम्राट् भण्डारी पुग्नुले युवाहरूमा भलिबल खेलप्रतिको आकर्षण बढेको उहाँको भनाई छ । 

यसैगरी कमला पुन, मिलन मल्ल, राजु थकाली, सुजन चोखाल र जमानसिंह परियारले राष्ट्रिय खेलाडीका रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुले पनि युवायुवतीहरूमा भलिबल खेलप्रतिको आकर्षण बढेको जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँ बताउनुहुन्छ । 

भलिबल खेलको विकास र खेलाडी उत्पादन गर्ने हिसाबले सङ्घले आगामी माघ ९ देखि १२ गतेसम्म प्रथम अन्तर मावि स्तरीय प्रथम म्याग्दी भलिबल कपको आयोजना गरेको छ । विद्यालय खेलकुद क्षेत्रको नर्सरी भएकाले खेल प्रतिभाको उत्पादन गर्नका लागि  विद्यालयस्तरलाई केन्द्र विन्दुको रूपमा लिएर प्रत्येक वर्ष निरन्तर रूपमा  प्रतियोगिता सञ्चालन गरिने उहाँको भनाई छ । 

खेलकुदप्रतिको आकर्षण बढेका कारण कुलतमा पस्ने युवाहरूको सङ्ख्यामा पनि कमी आएको उहाँको भनाई छ । भलिबल खेलका राम्रा खेलाडीहरू उत्पादन हुनथालेपछि भलिबल खेलका दर्शकहरू पनि बढ्न थालेका छन् । गाउँगाउँमा हुने भलिबल प्रतियोगिताहरूमा दर्शकहरू खचाखच भरिएका हुन्छन् । 

विद्यालयले भलिबल खेलप्रति आकर्षण बढाउन विद्यार्थीहरूलाई प्रशिक्षण,तालिम र प्रतियोगिताहरूमा भाग लिन प्रोत्साहन गरेपछि भलिबल खेलप्रति रुचि बढ्न थालेको धवलागिरि गाउँपालिका ४ मुदीको बुद्धि विकास माविका प्रधानाध्यापक जगबहादुर किसानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल प्रतियोगितामा भाग लिन हरेक वर्ष विद्यार्थीहरूलाई पठाउने गरेका छौँ । यस वर्ष त भलिबलमा विद्यालय प्रथम भएपछि विद्यार्थीहरूमा हौसला बढेको छ ।’’ 

गत वर्ष नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल म्याग्दीमा आयोजना गरिएको थियो । खुल्ला मञ्चमा भएको प्रतियोगितामा दर्शकहरू भरिभराउ हुनुले पनि भलिबल खेलप्रति दर्शकको पनि क्रेज बढेको रूपमा लिन सकिने जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँ बताउनुहुन्छ । प्रतियोगिताका कारण ग्रामीण भेगका युवायुवतीहरूमा भलिबल खेलप्रति आकर्षण बढाउन मद्दत पुगेको उहाँको भनाई छ । 

‘‘गाउँगाउँमा हुने मेला, पर्व र नियमित रूपमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भलिबलको खेलाडी उत्पादन गर्ने माध्यम बनेका छन्,’’ जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँले भन्नुभयो, ‘‘विद्यालयस्तरको प्रतियोगितामा भलिबललाई प्रमुख खेलको रूपमा समावेश गरिनु र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलाडी उत्पादन गर्न र दर्शक बढाउन मुख्य भूमिका निर्वाह गर्नुले भलिबल खेलप्रति युवाहरूको आकर्षण बढाउन टेवा पुगेको छ ।’’