• २७ वैशाख २०८१, बिहिबार

आगलागीबाट पाँच गम्भीर घाइते

blog

भारतको बैंग्लोरमा ग्याँस लिक हुँदा जलेर घाइते सन्देश तिरुवाका परिवार ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस ५ गते । भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् । 

कञ्चनपुरको बेलौरी नगरपालिका –१ हीरापुर ठेगाना भएका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते हुनुभएको हो । घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सचिवालय सदस्य तिलकराज कँडेलले राति एउटै कोठामा सुतेका तिरुवा परिवार आगलागीमा परी घाइते हुनपुगेको जानकारी दिनुभयो ।

२८ वर्षीय सन्देश तिरुवा, उहाँको श्रीमती २६ वर्षीया निकला, छोराछोरी तीन वर्षका रोहन, सात वर्षका रोशन र १५ वर्षका रोशनी तिरुवा जलेर घाइते भएको जनाउँदै उनीहरुको उपचारमा आर्थिक समस्या भएको कँडेलले बताउनुभयो ।

केही वर्षदेखि परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको उहाँले जानकारी दिनुभयो ।

बाध्यताले परिवार पाल्न भारतमा लालाबालासहित आएको परिवारको उपचारका लागि सबैले सक्दो सहयोग गरिदिनहुन सङ्घका सदस्य कँडेलले आग्रह गर्नुभयो ।