• १२ साउन २०८१, शनिबार

बाँसुरी वादन प्रतियोगिताका लागि काठमाडौँ महानगरको आह्वान

blog

काठमाडौं महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने ।

काठमाडौं, मङ्सिर १३ गते । मङ्सिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । इच्छुक समूहले फारामा नां (नाम), थाय्वाय् (ठेगाना) सहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्छ । दर्ता फाराममा टोल, गुथि वा सङ्घ संस्थाका गुरु: कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनु पर्छ । 

प्रतियोगिता सहभागी हुने सर्तका विषयमा जानकारी दिँदै स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकार भन्नुहुन्छ, ‘प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (शृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।’

मुनिकारकाअनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ ।

दुई जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये तीन वटा बाजा बजाउन सक्छन् । यस्तै दुई जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजाहरू सहायक बाजाका रूपमा बजाउन पाउँछन् ।

प्रतियोगीले पाँच वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये दुई वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ ।

एउटा धुन पाँच मिनेटभित्र सक्नु पर्छ । चार मिनेटमा सङ्केत बज्नेछ । यदि छोटा धुन भए दुई वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ ।

प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई एक लाख ५० हजार रुपियाँ र शिल्डमा चाँदीको ठुलो बाँसुरी प्रदान गरिनेछ । दोस्रो पुरस्कार एक लाख रुपियाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोमा ५० हजार रुपियाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ ।

सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपियाँ नगद र प्रमाण पत्रसँगै सबै सहभागीलाई प्रमाण पत्र दिइने मुनिकारले जानकारी दिनुभयो । प्रतियोगिता मङ्सिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।