काठमाडौं, मङ्सिर ११ गते । ‘द लेप्रोसी मिसन नेपाल’ ले आफूले गरेको काममा सफलता पाएको जनाएको छ । अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन कार्यक्रममा लेप्रोसीले सफलता हासिल गरेको दाबी गरेको हो ।
१५ सय जना अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्देश्यसाथ सञ्चालन गरिएको पाँच वर्षे कार्यक्रममा चार वर्षमै १३ सय १४ जनाले रोजगारी पाएर सफलता हासिल गरेको संस्थाका क्लस्टर प्रबन्धक शिवकुमार प्रधानले बताउनुभयो ।
उहाँका अनुसार परियोजनामार्फत अहिलेसम्म पाँचसय २५ जना व्यक्ति विभिन्न संस्थामा कर्मचारीका रूपमा नियुक्त भएका छन् । सात सय ९९ जना विभिन्न उद्योगमा कार्यरत छन् । दुईसय ४५ जनालाई विभिन्न किसिमको तालिम दिइएको छ । आठसय ११ जना रोजगारी नजिक छन् भने पाँच सय ४० जनाको आयस्तर २० प्रतिशतले वृद्धि भएको छ ।
लेप्रोसीले राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा रोजगारविहीन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर ‘फाउण्ड परियोजना’ २०१९ मा सुरु गरेको छ । परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा नियुक्ति गर्नका लागि रोजगारदातामाझ विश्वासको वातावरण निर्माण गर्नुका साथै नेपालमा रहेका अपाङ्गता व्यक्तिहरूका लागि रोजगारीका अवसर बढाउनु हो।
परियोजनाले रोजगारदाता र अपाङ्गता भएका व्यक्तिबिच पुलको रूपमा काम गर्दैआएको छ । परियोजनाले अपाङ्गता समावेशी रोजगारीको क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अनुभव, उपलब्धि र सिकाइहरू विभिन्न सरोकारवालासँग संस्थाले बाँड्दै आएको जनाएको छ ।