राजु लामिछाने
रुकुमपश्चिम, मङसिर ७ गते । भूकम्पपीडितका लागि वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । चौरजहारी नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद जैसीले भूकम्पपीडितका लागि भन्दै व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको हो ।
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार वडा अध्यक्ष जैसीले चौरजहारी नगरपालिकामा रहेको प्रकोप व्यवस्थापन कोषको खातामा एक लाख रकम जम्मा गर्नुभएको छ ।
मनकारी वडाअध्यक्ष जैसीलाई स्थानीय सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ । प्रकोप व्यवस्थापन कोषमा विभिन्न निकाय र व्यक्तिले सहयोग जम्मा गर्ने रहेको चौरजहारी नगरपालिकाले जनाएको छ ।
भूकम्पका कारण पीडित तथा प्रभावित भएकालाई राहत, पुनर्निर्माणलगायतका काममा सहयोग पुगोस् भनेर आफूले सक्दो सहयोग गरेको वडाध्यक्ष जैसीले बताउनुभयो । सबैको स–सानो सहयोगबाट विपद्को सामना गर्न सकिने उहाँको भनाइ छ ।