बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङ्सिर ७ गते । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पारिवारिक झगडाका कारण दावाले बुधबार राति ९ बजेतिर फलामको रड टाउकोमा प्रहार गर्दा बुद्धिमानको घटनास्थलमै मृत्यु भएको हो ।
बुबाको हत्या गरी छोरा दावा फरार रहेका र निजको खोजतलास भइरहेको कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले बताउनुभयो । मृतकको लास पोष्टमार्टमका लागि कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।