• १४ मंसिर २०८१, शुक्रबार

उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

blog

हरि कोइराला

उर्लाबारी ,मङ्सिर ७ गते । मोरङको उर्लाबारी ७ इटहरारोडकाे सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आगलागीमा शक्त घाइते हुनुभएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ । तामाङको काठमाडौँको कीर्तिपुरस्थित  बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय  उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । 

अस्पतालको आइसियु कक्षमा उपचाररत तामाङको बिहीबार (आज) बिहान ६:२५ बजे निधन भएको घाइतेहरूको उपचारमा सहयोग गरिरहनु भएका उर्लाबारीका  राजन रायमाझीले जानकारी गराउनुभयो ।  तामाङको शरीरको विभिन्न भागमा गरी ६५ प्रतिशत जलन भएको थियो ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २२  जना घाइतेको  उपचार भइरहेको  छ ।

जसमध्ये  ६ जना सघन उपचार कक्षमा  उपचार भइरहेको छ ।यसअघि उपचाररत तपन पण्डित र हेमकुमार दाहाल (दीपक) को  मृत्यु  भइसकेको छ ।