• ७ कात्तिक २०८१, बुधबार

घोडाघोडीमा आगन्तुक चराको चहलपहल

blog

घोडाघोडी तालमा देखिएका जलपन्छी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर ५ गते । कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँससहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा आइपुगेका हुन्। 

जाडो छल्नका लागि कैलाली आइपुगेका यी चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रूपमा बसोबास गर्ने चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडीसहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन् । ती चराको बसोबास हिउँद अवधिभर यतै हुने गर्दछ”, उहाँले भन्नुभयो ।

जाडो छल्न यहाँ आएका चरा सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइसराइ गरेर घोडाघोडी आइपुगेका छन् । 

हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन गर्ने ठुलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् । 

घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगतिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताइन्छ । कैलालीको घोडाघोडीमा ७० र भजनी नगरपालिकास्थित पुरैना तालमा ७४ प्रजातिको जलपन्छी पाइएको अभिलेख छ ।