• १५ असार २०८१, शनिबार

उन्नाइस करोड लगानीमा गुम्बा निर्माण

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर ५ गते । पोखरा महानगरको वडा नं. १०, रामघाटमा बौद्ध अर्घाै सदन परिसरमा भव्य गुम्बा बनेको छ । करिब १९ करोडमा बनेको गुम्बा सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा उहाँले बुद्धले प्रतिपादन गरेका पञ्चशील तथा आर्य सत्यहरूलाई आत्मसात् गर्न सके विश्वभर नै शान्ति छाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश गुरुङ संस्कृतिको उद्गम स्थल भएको दाबी गर्दै नाकाबन्दी, कोरोना, आर्थिक सङ्कट जस्ता विपत्तिका बिच बहुउद्देश्यीय भवन निर्माण हुनु निकै महत्त्वपूर्ण भएको बताउनुभयो । “यो गुम्बा पोखराकै गौरव हो । बुद्धको मार्ग आत्मसात् गर्दै विश्व शान्तिको सन्देश दिन यसले योगदान गर्छ,” उहाँले भन्नुभयो । 

सुरुमा १० करोड हाराहारी लाग्ने अनुमान गरिएको यो गुम्बा दाताहरूकै सहयोगले बनेको हो । पन्ध्र रोपनीमा फैलिएको बौद्ध अर्घाै सदनमा २०२८ सालदेखि नै बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिँदै आएको छ । २०७१ मा भएको भेलाले संकल्प फराकिलो हलसहितको गुम्बा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । २०७१ वैशाख १९ गते गुम्बा शिलान्यास भएको थियो ।

गुम्बामा बुद्धको मुख्य सालिक निर्माणका लागि हेमजाकोटका हर्कबहादुर गुरुङले २१ लाख दान दिनुभएको छ भने ठुलो माने बनाउन तामागीका यमबहादुर गुरुङले १९ लाख ३४ हजार र गुम्बा निर्माणमा थप पाँच लाख सहयोग गर्नुभएको छ । 

गुम्बा निर्माणका लागि आठ सय जनाले एक लाख नघट्ने गरी दान रकम दिने घोषणा गरेका थिए । बौद्ध अर्घाै सदनका अध्यक्ष क्या. भुवनसिंह गुरुङले सभाकक्षसहितको तीन तले बहुउद्देश्यीय भवनको सबैको साथ, सहयोगले निर्माण भएको उल्लेख गर्नुभयो । 

नयाँ भवनको भुइँतलामा पाँच सय जना अट्ने सभाकक्ष छ । पहिलो तलालाई पूजा हलका रूपमा विकास गरिएको र त्यहाँ बुद्धको विशाल मूर्ति रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । गुम्बाको दोस्रो तलामा पाँच कक्ष छन् । त्यहाँ सङ्ग्रहालय, पुस्तकालय, अतिथि गृह, मुख्य गुरुसँग भेटघाट कक्ष र सानो भान्छा कोठासमेत छन् ।