राजकुमार भट्टराई
खोटाङ, मङ्सिर ४ गते । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरमा पालिएको ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोइला र बिजुलीको रातो चिमबाट आगो सल्किएर आइतबार राति किशोर दुमी राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आइतबार राति करिब ११ः४५ बजेबाट सुरु भएको आगो इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी र स्थानीयले राति २ बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीनतले घर जलेर नष्ट हुँदा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङ सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । यसैगरी, आगलागीबाट घरभित्र राखिएको दुई तोेला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात र लत्ताकपडालगायत सामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।
घरमा आगलागी भएपछि भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते हुनुभएको छ । घाइते तामाङको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ ।