• १२ साउन २०८१, शनिबार

खाद्य सङ्कट निम्तिन सक्ने

blog

जाजरकोट भूकम्पमा परी क्षतिग्रस्त भएका सदरमुकाम खलङ्गाका घर । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, मङ्सिर ४ गते । भूकम्पले जाजरकोटमा खाद्य सङ्कटको जोखिम ल्याएको छ । घरमा भण्डारण गरिएका अन्न र खाद्यान्न भत्किएकै घरले पुरिएको र बारी तथा खेतमा लगाएको अन्नबाली निकाल्ने बेला नभएपछि भूकम्प क्षेत्रमा खाद्य सङ्कट गहिरिएको हो । खेतबारीको अन्नबालीले समेत सो क्षेत्रमा तीन महिनादेखि धनीमानीको छ महिना थेग्ने अवस्था रहन्छ । समयमै खाद्यान्न जोहो गर्न नसके जिल्लामा खाद्य सङ्कट आउन सक्ने चेतावनी जिल्लाका सरोकार निकायले दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक सुरेश सुनारले भूकम्पले जिल्लामा खाद्य सङ्कटको जोखिम बढाएको बताउनुभयो । उहाँले एक महिनाभित्र खाद्यान्नको जोहो गर्न नसकिए खाद्य सङ्कट आउने बताउनुभयो । उहाँका अनुसार भूकम्पले घरभित्र रहेका खाद्यान्न पुरिएको र निकाल्न पनि सकिने अवस्था भएन । भूकम्पपछि अहिले सहयोगी दाताले दिएको खाद्यान्नले गुजारा चलेको छ । खेतबारीमा लगाएको अन्नले बढीमा छ महिना पुगे पनि वैकल्पिक खाद्यको जोहो गर्न नसकिए खाद्य सङ्कट आउने अवस्था छ । 

त्यसो त जाजरकोट बर्सेनि खाद्य असुरक्षित जिल्लामा पर्छ । प्रजिअ सुनारले जिल्लामा तीन महिनादेखि बढीमा नौ महिनासम्म पुग्नेसम्मको मात्र खाद्य उत्पादन हुने गरेको बताउनुभयो । यहाँका बासिन्दा पनि रोजगारीका लागि भारततिर जाने गर्छन् । बाह्रै महिना पुग्ने खाद्य उत्पादन हुँदैन । 

जिल्लाका दुर्गम मानिएका कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका अझ बढी खाद्य असुरक्षित छन् । भूकम्पले भएको खाद्यान्न पनि पुरिएको र काम गरेर कमाउने जनशक्ति मृत्युको शोकमा र भत्केका घरको उत्खननमा लाग्नु परेको जिल्लामा खाद्य सङ्कट आउने धेरै सम्भावना भएको प्रजिअ सुनारले बताउनुभयो । 

खाद्य सङ्कटको जोखिमबारे जिल्लास्थित अन्य सरोकारवालाले पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भूकम्पका कारण खाद्यान्न पुरिएको र नयाँ उत्पादनले बाह्रै महिना खान नपुग्नुका साथै कमाउनेहरू पनि उद्धार तथा पुनर्निर्माणमा लाग्नु पर्दा खाद्य सङ्कट आउन सक्ने बताउँदै आएका छन् । राहत पनि जिल्लाका दुर्गम स्थानमा पुग्न नसकेको हुँदा भोकमरी आउन सक्ने उनीहरूको भनाइ छ ।

राहतका रूपमा आएको खाद्यान्न अब दुर्गम र भोकमरी हुन सक्ने स्थानमा समानुपातिक रूपमा वितरण गर्न उनीहरूले सुझाव दिएका छन् । स्थानीय छवि पन्तले आवश्यकता र दुर्गम स्थानमा अब आएको खाद्यान्नलगायत सामग्री वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले भोकमरीको जोखिम बढेको भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले यसको पूर्वआकलन गरी जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । 

जाजरकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कमानबहादुर खड्काले भूकम्पले जनधनका साथै रोजगारी गुमेको र खाद्य सङ्कट आउन सक्ने बताउनुभयो । उहाँले जतिसक्यो छिटो अस्थायी पुनर्बासको व्यवस्था गरी रोजगारमूलक कार्यव्रmम ल्याउनसमेत सरोकारवालालाई आग्रह गर्नुभयो ।