• ८ जेठ २०८१, मङ्गलबार

तमोरको मोटरेबल पुल निर्माण कार्य अलपत्र

blog

एउटा खम्बा (पिलर) निर्माणपछि अलपत्र रहेको तमोर नदीको मोटरेवल पुल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३ गते । तमोर कोरिडोरअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्नेगरी तमोर नदीमा सुरु गरिएको पक्की मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । आजभन्दा करिब ६ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो । 

पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिन जोड्नेगरी तमोर नदीको लुम्बिनी पुल स्थलमा पक्की मोटरेवल पुल निर्माण गर्न लागिएको हो । मोटरेवल पुलको हालसम्म एउटा मात्र खम्बा (पिलर) निर्माण गरिएको छ भने पाँचथरतर्फ पुलको जग (जिप) को थोरै काम भएको छ ।

निर्माण कार्यको जिम्मा (ठेक्का) लिएको कम्पनीले ६ वर्ष सम्ममा पनि मोटरेवल पुल निर्माण नगरी काम अलपत्र पारेपछि स्थानीय जनप्रतिनिधिसहित सरोकारवालाबाट दबाब दिन सुरु गरिएको छ । पुल निर्माणका लागि दबाब दिने उद्देश्यले शनिबार आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूको अगुवाइमा जनप्रतिनिधि, स्थानीय प्रशासन र पत्रकारको टोलीले निर्माणाधीन पुलको निरीक्षण तथा अवलोकन गरेको छ । 

स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलसहित सुरक्षा निकायका प्रमुख र पत्रकारको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्दै तत्काल पुल निर्माणको कार्य थाल्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई काम गर्न पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरिएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बताउनुभयो ।

पोमुका अनुसार काम सुरु गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै अन्तिम प्रयासस्वरुप जनदबाब अघि बढाउन थालिएको हो । निर्माण कम्पनीलाई काममा फर्काउन ताप्लेजुङसहित पाँचथरको हिलिहाङ गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिका समेतका जनप्रतिनिधिले संयुक्त पहल थाल्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले कामको जिम्मा लिएपछि जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नहुने बताउनुभयो । भौगोलिक वस्तुस्थिति तथा प्राविधिक अन्य कारणबारे छलफल गर्न सकिने भए पनि लिएको जिम्मेवारीबाट पन्छिन नहुने उहाँले बताउनुभयो । 

सो पुल निर्माण नभएकाले तमोर कोरिडोरको कार्यमासमेत असर पुगेको छ । विराटनगरको रानीदेखि धनकुटाको मूलघाट, पाँचथरको यासोक–सुभाङ, ताप्लेजुङको फूलबारी–दोभान, ओलाङ्चुङगोला हुँदै टिपताला जोड्नेगरी कोरिडोर सडक निर्माण सुरु गरिएको हो । यस तमोर कोरिडोरलाई नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो सडक मार्ग हो । 

अहिलेसम्म पुल निर्माण नहुँदा तमोर कोरिडोरको महत्वसमेत ओझेल परेको बताइएको छ । यो मोटरेवल पुल निर्माणको जिम्मा भने एमएस सपना याक्थुङ जेभी कम्पनी काठमाडौँको रहेको छ । जेभी निर्माण कम्पनीले भ्याटसहित कुल २२ करोड पाँच लाख ७७ हजार ८७९ रुपियाँ बजेटमा पुल निर्माण गर्नेगरी २०७४ फागुन ६ गते सम्झौता भएको थियो ।