काठमाडौं, मङ्सिर ३ गते । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आइतबारदेखि सुरु भएको छ ।
चारदिने तालिममा एक सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो सङ्घले जनाएको छ । प्रशिक्षकहरूलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिनुहुनेछ ।
उक्त तालिम मङ्सिरमै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौँमा २५ देखि २९ गतेसम्म हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको एक कार्यक्रमबिच तालिमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान् किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो । तेक्वान्दोकाद्वयले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औँ एसियाली खेलकुदमा सो पदक जित्नुभएको थियो ।
दुवै नेपालमा भएको आठौँ दक्षिण एसियाली महासङ्घ खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुनुहुन्छ । सन् २००२ देखि अमेरिकामा बस्दै आउनुभएका तेक्वान्दो दम्पती त्यसयता पहिलोपटक नेपाल आउनुभएको हो ।