• १२ साउन २०८१, शनिबार

शनिबारे हाटमा फूलको बढ्यो कारोबार (फोटो फिचर)

blog

फुङ्लिङस्थित शनिबारे हाटमा फूल खरिदबिक्री गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगाे मूल्यमा फूलको कारोबार भएको हो । 

जिल्लामा हालसम्म व्यावसायिक फूल खेती नभएको र ग्रामीण भेगका किसानले उत्पादन गर्ने फूलमा भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय किसानका अनुसार उत्पादन कम भएपछि बजारमा फूलको मूल्य महँगाे पर्नेगरेको छ । मागअनुसार फूलको उत्पादन नभएकाले मूल्य महँगिएको व्यवसायी बताउँछन् । 

शनिबारे हाटमा प्रतिमुठा ५० देखि एकसय ५० रुपियाँसम्ममा फूलको कारोबार भएको छ । सयपत्री फूलभन्दा मखमली फूलको मूल्य दोब्बर महँगाे भएको उपभोक्ताले बताएका छन् । 

तिहारका लागि फूल आवश्यक भएपछि बिक्री गर्न आएका व्यवसायीले भने जति नै मूल्य लगाएर फूल खरिद गर्न बाध्य भएको सदरमुकामवासी उपभोक्ताको भनाइ छ । 

बजारवासीले ग्रामीण क्षेत्रबाट आउने फूलमा भर पर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरु बताउँछन् । बजारबासीका लागि विकल्प नभएपछि ग्रामीण क्षेत्रबाट बिक्री गर्न ल्याइएका फूल महँगाे भए पनि खरिद गर्न बाध्य हुनुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । फूलको पर्वका रुपमा समेत मान्ने गरिएको तिहारमा घरढोका, भाँडाकुँडा सजाउनदेखि लक्ष्मीपूजा, भाइटीकामा फूलमालाको अधिक प्रयोग गर्ने चलन रहिआएको छ ।