• १२ साउन २०८१, शनिबार

विलीन हुँदै बुलौदीखोला, मुहानदेखि निकाससम्मै अतिक्रमण (फोटो फिचर)

blog

फडिन्द्र अधिकारी

पोखरा, कात्तिक २५ गते । पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ । 

पोखरा वडा नं. ५, ७ र ६ हुँदै बहने यो खोला मालपोत कार्यालयमाथि बैदाम क्षेत्रमा पुगेर फिर्केमा मिसिन्छ । फिर्के र बुलौदी मिसिएर बन्ने फिर्के खोला करिब डेढ किलोमिटर तल पुगेर फेवातालमा मिसिन्छ । फिर्के खोला जस्तै बुलौदी खोलाको मापदण्ड पनि खोला छेउबाट १० मिटर हो । धारापानी मुहानमा खानेपानी लिन आउने भीड लाग्ने यो पानी फिर्केमा मिसिने बेलासम्म दुर्गन्धित भइसकेको छ । करिब तीन किमी बजार क्षेत्र हुँदै बग्ने यो खोला दोस्रो जनआन्दोलनपछि अतिक्रमणको बढी चपेटामा परेको हो । 

स्थानीय खोला मिचेर यसलाई कुलोजस्तै बनाएका छन् । चार दर्जनभन्दा बढी घर खोलबाटै पिलर उठाएर बनाइएका छन् । त्यति मात्र होइन, ती घरले फोहोर पानीको निकाससमेत यही खोलामा फाल्ने गरेका छन् । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा क्याबिन र पक्की पर्खाल लगाउँदा खोलाले सार्वजनिक जग्गा रहेको अर्को क्षेत्रतिर कटान गरेकोसमेत देख्न सकिन्छ । कतिपय व्यवसायीले खोला मिचेर संरचना बनाउने मात्र होइन, त्यसको फोहोरसमेत खोलामै फालेको देखिन्छ । केही सामुदायिक भवनसमेत खोलाकै क्षेत्रमा बनेका छन् । बुलौदी खोलाको अतिक्रमणको अवस्थाबारे अझसम्म कतिबाट अध्ययन भएको छैन । संरक्षणका लागि प्रभावकारी कदम नचाल्ने हो भने फिर्केको अस्तित्व एकातिर सङ्कटमा पर्नेछ भने अर्कातिर यसले विपत्ति निम्त्याउन सक्छ ।


तस्बिरहरुः फडिन्द्र अधिकारी