• ७ जेठ २०८१, सोमबार

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट निम्तिने जोखिम : एनआरएनए

blog

भूकम्पपीडित । तस्बिर : एनआरएनए

काठमाडौं, कात्तिक २३ गते । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य सङ्कट निम्तिने सक्ने अवस्थातर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको सङ्घको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्‍याउन नसके स्वास्थ्य सङ्कट चुलिन सक्नेतर्फ ध्यानाकर्षण गराएको हो । 

सङ्घअन्तर्गतको स्वास्थ्य समितिले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका सङ्घका अभियन्ताहरुले बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्नुहुँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि  चिसोको समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा बिरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।”


अध्यक्ष  डा. केसीले हाल त्यहाँ पुगेकोे राहतका सामग्रीहरु पर्याप्त नरहेको बताउँदै राहत सामग्री व्यवस्थित ढङ्गले पुर्‍याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरु समेतले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पीडितको आवश्यकता धेरै छ तर राहत कम पुगेको छ । उहाँले विदेशमा रहेका नेपालीहरुको सानो सहयोगले ठूलो राहत मिल्ले भन्दै सहयोगका लागि विश्वभर छरिएका नेपालीहरुलाई अपिल गर्नुभयो ।

यसैगरी, एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले देशमा दुःख परेका बेला विदेशमा रहेका नेपालीहरु एकजुट हुने बेला आएको बताउँदै आफूसक्दाे सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा सङ्घका महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्याहरु आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गर्नुभयो । उहाँले प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली सङ्घले आफ्नो सक्रियता बढाइरहेको र आगामी दिनमा अल्पकालीन तथा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो  ।

सङ्घका उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले भूकम्पबाट घाइते भएकाहरुको औषधि उपचार पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो  ।

कार्यक्रममा सङ्घका महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका चिकित्सक भूपेन्द्र मल्लले भूकम्पका कारणले मानिसहरुको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या आउन सक्ने खतरा रहेको बताउनुभयो ।  उहाँले बालबालिका, महिला, वृद्धवृद्धाहरुले समयमै औषधि उपचार नपाउने अवस्था रहेको र अहिले गाउँ गाउँमा झाडाबान्ताको महामारी फैलिने जोखिम रहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनएका कोषाध्यक्ष सुदन थापाले सङ्घले विश्वभरबाट सङ्कलन भएको आर्थिक सहयोगको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यकारी निर्देशक राजेन्द्रकुमार राउतले संघको सम्पूर्ण बैंक खाता सञ्चालनमा रहेको जानकारी दिनुहुँदै गैरआवासीय नेपालीहरुको सहयोग आउनेक्रम जारी रहेको जानकारी दिनुभयो । यसअघि गैरआवासीय नेपाली सङ्घ एक करोड रुपियाँको राहत कोष स्थापना गरी प्रभावित क्षेत्रमा खटिएको थियो । त्यसपूर्व सङ्घले सरकारी राहत कोषमा १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको थियो ।