• १३ असोज २०८१, आइतबार

आइएफआरसीद्वारा तत्काल ‘जाजरकोट भूकम्प’बाट पीडितलाई रु १० करोड सहयोग

blog

काठमाडौँ,  कात्तिक २२ गते । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) मार्फत नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो । 

आइएफआरसीको महासचिव जगन चापागाईँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भन्नुभएको छ “नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपत्कालीन कोषमार्फत  तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।” 

उहाँले आगामी दिनमा मानवीय सेवाका लागि आइएफआरसीले थप सहयोग उपलब्ध गराउँदै जाने पनि जानकारी दिनुभएको छ । जाजरकोट र रुकुम पश्चिममा अहिले सोसाइटीका तालिमप्राप्त ९० भन्दा बढी स्वयंसेवक भूकम्पबाट प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा अनवरत रूपमा जुटिरहेका छन् । गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूटको अकल्पनीय भूकम्प गएको थियो । यसपछि तत्काल ‘पहिलो उद्धारक’ रूपमा सो मानवीय संस्थाका स्वयंसेवक उद्धारमा जुटेका थिए । यो कार्य निरन्तर जारी रहेको जनाइएको छ । प्रारम्भिक प्रतिवेदनका अनुसार मुख्यगरी ती दुई जिल्लामा हालसम्म भूकम्पबाट एक सय ५०  जना भन्दा बढीको मृत्यु, तीन सय ४५ घाइते, १२ हजार ०६ परिवार विस्थापित, ३८ हजार सात सय पाँच प्रभावित, नौ हजार चार सय ८३ घर क्षति, १९ हजार दुई सय ८६ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।  

सोसाइटीले हालसम्म एकहजार सात सय म्याट्रेक्स, एकहजार पाँच सय तारपोलियन, सोही सङ्ख्यामा ब्ल्याङ्केट, दुईसय बुकटेस, एकजार रोपेस भूकम्पपीडितलाई  वितरण गरिसकेको जनाएको छ । यो कार्य जारी रहेको जनाइएको छ ।  

आवास र गैर खाद्य सामग्री ÷नगद वितरण (आकस्मिक आवास,तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृत रूपमा भूकम्पपीडितलाई उपलब्ध गराउने नीति नेपाल रेडक्रसले लिएको छ । 

राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने आएफआरसीले जनाएको छ । भूकम्प अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यानो कपडासहित नगद सहयोग गर्ने नीति  उसले लिएको छ ।  रासस