• २७ वैशाख २०८२, शनिबार

कांग्रेस महासमिति बैठक पुसको १६ देखि १९ गतेसम्म बस्ने

blog

काठमाडौं, कात्तिक २१ गते । नेपाली कांग्रेसको पूर्व निर्धारित महासमिति बैठकको मिति पुनः सरेको छ । 

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँले यसअघि मङ्सिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मङ्सिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताउनुभयो । उहाँले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला हामीले महासमितिको बैठक मङ्सिरको १३—१५ भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मङ्सिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताउनुभयो ।