• २७ वैशाख २०८२, शनिबार

राहत, उद्धार र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न कांग्रेसको सुझाव

blog

काठमाडौं, कात्तिक २१ गते । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापना कार्य प्रदेश तथा स्थानीय सरकारको नेतृत्वमा गर्न सरकारलाई सुझाव दिएको छ । 

सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज बिहान कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिमण्डल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी सरकारलाई दिएको सुझाव सम्बन्धमा जानकारी दिनुभयो । 

उहाँले सरकारलाई तत्कालीन–अल्पकालीन सम्बन्धमा १२ बुँदे र पुन:निर्माणका सम्बन्धमा नौ बुँदे सुझाव दिइएको जानकारी दिनुभयो । 

विश्वकर्माले भन्नुभयो, “भूकम्प लगत्तै प्रधानमन्त्री र सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले सक्रियतापूर्वक निर्वाह गरेको भूमिका प्रशंसनीय छ । सबै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक सङ्घ–संस्था सबैको स्वतः स्फूर्त सहयोगी मानवीय भावनाले ‘विपद्मा सम्पूर्ण एकताको नेपाली संस्कार’ प्रदर्शित गरेको छ ।”

उहाँले भूकम्प प्रभावितका लागि अत्यावश्यक सामाग्रीहरू अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रूपमा क्रियाशील राजनीतिक दलहरू र सङ्घ–संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव दिइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुनेछ ।”

उहाँले प्रभावित क्षेत्रमा अस्थायी बसोबास निर्माण तथा पुन:निर्माणसम्मको कार्यका लागि कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो । यसकालागि कांग्रेसका महामन्त्रीद्वय सहितको पदाधिकारी प्रभावित क्षेत्रमा पुगेर राहत वितरणको अनुगमन तथा त्यसमा सहजीकरण गर्ने जानकारी उहाँले दिनुभयो ।