गोरखापत्र समाचारदाता
कीर्तिपुर, कात्तिक २० गते । समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमबिच मोर्चाको अनुगमन समितिका संयोजक प्रा.डा. शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने समस्या चाँडै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरको विकास, व्यवस्थित र समृद्धिको लक्ष्यका लागि अडिग रहेको बताउनुहुँदै उहाँले बजेट विनियोजन नगरेकाले विकासका गतिविधिहरू ठप्प भएको बताउनुभयो ।
कीर्तिपुरमा स्नातकसम्म निःशुल्क शिक्षाका लागि नगरपालिकाले राम्रो काम गरेको स्मरण गर्नुहुँदै उहाँले आफ्नो घोषणापत्रअनुसार प्रायः सबै काम भए पनि प्राविधिक शिक्षालय स्थापना गर्न नसकिएको बताउनुभयो ।
सङ्घीय सरकारको विकास निर्माणको कामले गर्दा सडकमा केही प्रदूषण भए पनि चाँडै सोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरेर समाधान गर्ने बताउनुभयो । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको जेठोमध्येकै नगरपालिकाको २७ वर्षको इतिहासमा पनि न्यूनतम सहरी पूर्वाधारको विकास नभएको उल्लेख छ ।
कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धी ऐन कार्यान्वयन गर्न, रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बुंगमतिबाट फिर्तागरी कीर्तिपुरमा स्थापना गर्न, बेनिस्सा, स्ववासी तथा सुकुम्वासी जग्गाको समस्या समाधानका लागि तत्काल कारबाही अगाडि बढाउन, विष्णुदेवी अस्पताललाई नगर अस्पतालको रूपमा स्तरोन्नति गर्न, त्रिभुवन विश्वविद्यालय, फेक्ट नेपाल (कीर्तिपुर अस्पताल) लगायतसँग भएका सम्झौता कार्यान्वयन गराउन पहल गर्न माग गरिएको छ ।