सचिन पोख्रेल
विराटनगर, कात्तिक २० गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।
सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले केशलिया नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्ने बताउनुभएको हो । उहाँले यस अभियानका लागि प्रदेश सरकारले सङ्घ र स्थानीय सरकारबिच समन्वयगरी नमुना एकीकृत योजनाको निर्माण गर्ने बताउनुभएको छ ।
विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जू गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका विभिन्न वडाका वडाध्यक्षसहित स्विस सरकारका प्रतिनिधिबिच छलफल भएको हो । स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माणलगायत सौन्दर्यीकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।
मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकासले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृषिमा समेत टेवा दिने भन्दै यसका लागि सङ्घ प्रदेश र स्थानीय सरकारबिचको सहकार्य जरुरी रहेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका ४, ५, ६, ११, १२, १६ वडालाई छुँदै केशलीया नदी दक्षिणतर्फ बगेको छ । बुढीगंगा गाउँपालिकाको वडा २, ३, ४ तथा बर्जू गाउँपालिकाको वडा १, २, ३ मा समेत नदी जोडिएको छ । छलफलको क्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, बर्जू गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायसमेतको उपस्थिति थियो ।