• १२ साउन २०८१, शनिबार

उद्धारमा देखाएको तदारुकताप्रति सरकारलाई रास्वपाको धन्यवाद

दुर्गम र गरिब भूकम्पपीडितलाई प्राथमिक्तामा राख्न प्रधानमन्त्रीको निर्देशन

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँग भेट गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिक्तामा राख्न निर्देशन दिनुभएको छ । भूकम्पपीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ ।’’ प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले तपाईहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुश भएको छ ।’’ उहाँले पीडित समक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्दारमा लाग्ने छौं ।’’ त्यसको लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको राहत र पुनस्र्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु रहेको पनि बताउनुभयो । उहाँले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको थियो । त्यसैगरि अर्यालले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।