• १२ साउन २०८१, शनिबार

सशस्त्रले भूकम्प प्रभावित क्षेत्रमा पाँच वटा कन्टेनर पठायो

blog

सशस्त्र प्रहरीको ‘डिजास्टर रिलिफ सिस्टम’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा । तस्बिर: सशस्त्र प्रहरी

काठमाडौं, कात्तिक २० गते । सशस्त्र प्रहरी बल नेपालले ‘डिजास्टर रिलिफ सिस्टम’ का पाँच वटा कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । गत शुक्रबार जाजरकोटको बारेकोट रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावित सोही जिल्ला र रुकुम पश्चिमका नागरिकको राहतका लागि कन्टेनर शनिबार सशस्त्र प्रहरीले पठाएको हो । 

सशस्त्र प्रहरी बल, नेपाल-६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि तीन वटा र २९ ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुम पश्चिमको लागि पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  


थापाका अनुसार तीन वटा कन्टेनरमा उपलब्ध साधन श्रोतबाट सम्बन्धित क्षेत्रमा अस्थायी बसोबासका लागि संरचना निर्माण भएका छन् । नेपालस्थित अमेरिकन दूतावासबाट सहयोग स्वरूप प्राप्त भएको ३३ वटा कन्टेनर मध्ये तीन जाजरकोट, दुई वटा रुकुम पश्चिममा पठाइएको छ । 

बाँकी २८ वटा कन्टेनर सात वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरूमा विपद्को समयमा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो । एउटा कन्टेनरमा एक सय जनाका लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाँडाकुँडा लगायतका सामग्री हुन्छ ।