• २१ पुस २०८१, आइतबार

समाजवादी प्रेस सङ्गठन डोल्पा अध्यक्षमा आनन्दसिं रावल

blog

समाजवादी प्रेस संगठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा
डोल्पा, कात्तिक २० गते । 
समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिम्मेवार पत्रकार समाजवादको आधार भन्ने नाराकासाथ समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सदरमुकाम दुनैमा सम्पन्न भएको हो ।

प्रथम जिल्ला भेलाबाट सर्वसम्मत रूपमा आनन्दसिं रावलको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । प्रथम भेलाबाट नवगठित कार्यसमितिमा पदम शाही उपाध्यक्ष गोपीचन्द्र बोहोरा (सन्देश)सचिवमा र मनीषा केसी कोषाध्यक्षमा चयन हुनु भएको छ ।

यसैगरी, सदस्यहरूमा डिल्ली विक, रूपचन्द्र बोहोरा र किस्मत बोहोरा रहनु भएको छ । नवगठित पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको थियो । भेलापश्चात् शपथ ग्रहण कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष सुवेदीले समाजवाद यात्राको एक अभिन्न अङ्ग प्रेस सङ्गठन भएको उल्लेख गर्दै समाजवादी प्रेस सङ्गठनमा समाहित हुनका लागि सर्वप्रथम पेसागत योग्यता दक्षता र वैचारिक स्पष्टता हुन आवश्यक रहेको बताउनु भयो ।

पार्टी विभाजन पछि केही राम्रा योग्य र दक्ष पत्रकार साथीहरू नेकपा एमालेमै अलमलिएर रहेको बताउँदै प्रेस चौतारीको भविष्य नभएकाले समाजवादको यात्रामा सरिक हुन समाजवादी प्रेस सङ्गठनमा आउन आग्रह गर्दै राम्रा पत्रकारहरूका लागि समाजवादी प्रेस सङ्गठनको ढोका सदैव खुला रहने पनि केन्द्रीय अध्यक्ष सुवेदीले बताउनु भयो ।

पत्रकार गलत भए सिङ्गो पत्रकारितामाथि नै कालो धब्बा लाग्ने बताउँदै जनताको समाजवादको निर्माणको सपना पूरा गर्न एकीकृत समाजवादी निर्माण भएको सुवेदीको भनाइ थियो । अहिले नेपाल पत्रकार महासङ्घमा सदस्यता शुद्धीकरणको नाममा महासङ्घमा हालीमुहाली भएका पेसागत सङ्गठनका नेतृत्वले क्रियाशील पत्रकारहरूको नाम कटाउने काम भएकाले सर्वत्र विरोधपछि समस्या समाधान गर्ने सहमति भएको र आगामी महासङ्घको निर्वाचनमा पनि वर्तमान सत्तागठबन्धन निकट पेसागत पत्रकार संगठनबीच नै गठबन्धन हुने केन्द्रीय अध्यक्ष सुवदीले बताउनु भयो ।

प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष अस्मिता गिरीले पार्टीदेखि पेसागत पत्रकार सङ्गठनमा महिला पत्रकारहरूको सहभागितामा जोड दिनु भयो । समाजवादी प्रेस सङ्गठन नेपालका महासचिव रामकुमार एलनले पत्रकारहरूको दिमाग हात र बोली नै समाज रूपान्तरणको प्रमुख हिस्सा भएकाले राम्रोसँग दिमाग हात र बोली चल्न आवश्यक रहेको बताउनु भयो । प्रेस सङ्गठनको केन्द्रीय पदाधिकारीको उपस्थितिमा जिल्ला भेला सम्पन्न हुनु राम्रो र सकारात्मक पक्ष भएको उल्लेख गर्दै पार्टी नेतृत्वले मात्र नभई सबैजनवर्गिय सङ्गठनका नेतृत्वले पार्टी कार्यकर्ता र जनताको लागि आशा जगाउने काम गर्नु पर्ने एलनको भनाइ थियो ।

कार्यक्रममा एकीकृत समाजवादी डाल्पाका अध्यक्ष छक्कबहादुर धरला पार्टी सचिव युवराज थकाली र प्रदेश कमिटी सदस्य बबिकिशोर गुरुङले डोल्पामा एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल रहेको बताउनु भयो । सङ्घीय सांसद र महत्त्वपूर्ण नगर, गाउँपालिकामा समेत पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएकाले सङ्गठन विस्तारमा उनीहरूको सकारात्मक र प्रभावकारी भूमिकाको आवश्यकतामा उहाँको जोड थियो । कार्यक्रममा कर्मचारी पेसागत महासङ्घ केन्द्रीय सदस्य गोरबहादुर बुढा प्रेस युनियन नेपाल डोल्पाका अध्यक्ष विष्णुप्रसाद देवकोटा प्रेस सेन्टर डोल्पाका अध्यक्ष रामचन्द्र न्यौपाने र प्रेस चौतारी नेपालका सचिव प्रेम थापा लगायतले भेलाको सफलताको शुभकामना दिनु भएको थियो ।