• १६ भदौ २०८१, आइतबार

नेकपा एसले भूकम्प प्रभावितलाई २५ लाख दिने

blog

नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडा

काठमाडौं, कात्तिक २० गते । नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा एसको सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरूबाट सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू र जनप्रतिनिधिहरू एवम् राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँले बताउनु भयो ।

बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनः स्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहनुभएको छ । सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरू रहनुभएको उहाँले जानकारी दिनुभयो ।

‘‘पार्टीले पार्टीको कार्यकर्ताहरूबाट आर्थिक सहयोग सङ्कलन गरी सरकारको राहत कोषमा २५ लाख रुपियाँ पार्टीका तर्फबाट प्रदान गर्ने निर्णय गरेको छ । यसको स्रोत हामीले पार्टी कार्यकर्ताहरूबाट आर्थिक सहयोग सङ्कलन गर्दै त्यहाँ बुझाउने छौँ । यही प्रयोजनका लागि हाम्रो पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू र जनप्रतिनिधिहरू एवम् राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्नुहुनेछ भन्ने निर्णय गरेका छौँ ।,’’ प्रवक्ता खतिवडाले भन्नुभयो, ‘‘उद्धार, राहत, पुनः स्थापना आदिको व्यवस्थापन कार्यमा सहयोग, सहकार्य र अनुगमन गर्नका लागि पार्टीले एक कार्यदल गठन गरेको छ । उपमहासचिव प्रकाश ज्वालाले संयोजन गर्नुहुनेछ । सांसद अमरबहादुर थापा, मन्त्री नन्दा चपाई, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टी प्रदेशका सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरूको अनुगमन, राहत तथा उद्धार कार्यका लागि व्यवस्थापन, सहयोग, समन्वय र अनुगमनका लागि यो कार्यदल गठन गरेको छ ।’’

त्यसैगरी बैठकले पार्टीले असोज १४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको बताउनु भयो । उहाँले सो अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘समाजवादी जागरण अभियानको समीक्षा गर्‍यौँ । हाम्रो पार्टीले छोटो समयको तयारीमा गरिएको यो निकै प्रभावकारी कार्यक्रम भएको । हाम्रो पार्टी समाजवादको प्रारम्भिक अवस्थामा अति महत्वको साथ ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण विषयहरू, एजेण्डाको रूपमा जनतामा लान सफल भएको । रोजगारी, सुशासन र समृद्धिका लागि राजनीतिक दलको तर्फबाट पहिलो पटक लगभग १२ सय किलोमिटर लामो अभियान सञ्चालन गरेको । नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरेको छ । समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेका छौँ ।’’

बैठकले पार्टीको महाधिवेशन माघ महिनामा काठमाडौँमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले मङ्गलबार पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी पनि दिनुभयो ।