• १२ साउन २०८१, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्: समिति

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक २० गते । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले व्यक्ति र संस्थागतरुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ । समितिले भूकम्पपीडितका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छ र स्वास्थ्यकर खानेकुरा, औषधिलगायतका दैनिक अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

समिति सभापति अब्दुल खानको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा सबै पक्षबाट भएको भूमिका र प्रयासप्रति आभारसमेत प्रकट गरेको छ । गत शुक्रबार राति गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु हुनुका साथै दुई  सय ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए । रासस