• ४ पुस २०८१, बिहिबार

नेकपा (एस) ले भूकम्प राहत कोषमा सांसदको १५ दिनको तलब र २५ लाख सहयोग गर्ने

blog

काठमाडौं, कात्तिक २० गते । नेकपा (एकीकृत समाजवादी) को सोमबार बसेको सचिवालय बैठकले सरकारको केन्द्रीय प्रकोप तथा राहत कोषमा २५ लाख रुपियाँसहित जनप्रतनिधि र सांसदको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ । 

काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो सहयोग सरकारलाई बुझाउने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पार्टीको कार्यकर्ताहरुबाट आर्थिक सहयोग सङ्कलन गरी सरकारको केन्द्रीय प्राकृतिक प्रकोप तथा राहत कोषमा २५ लाख पार्टीको तर्फबाट प्रदान गर्ने निर्णय गरेका छौं । हाम्रो पार्टीका मन्त्रीहरु, केन्द्र र सङ्घीय सरकारका मन्त्रीहरु, सांसदहरु, जनप्रतिनिधिहरु, राजनीतिक नियुक्तिबाट जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक राहत उपचार कोषमा जम्मा गर्नुहुनेछ ।”

आजको बैठकमा मुख्यतः तीन वटा एजेण्डामा छलफल भएको जानकारी दिनुहुँदै उहाँले कर्णाली प्रदेशका केही जिल्लामा भूकम्पले पुर्‍य ाएको गम्भीर क्षति, घाइतेको उपचारका लागि पार्टीको तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल भएको बताउनुभयो ।

यससँगै गत असोज १४ देखि २८ गतेसम्म सञ्चालन भएको समाजवादी जागरण अभियान सम्बन्धमा समीक्षा भएको उहाँले बताउनुभयो । 

उहाँले पार्टीको राष्ट्रिय महाधिवेशन माघको १४ देखि १८ गतेसम्म गर्ने भनेर यसअघि टुङ्ग्याइएकोमा यस सम्बन्धमा थप छलफल हुने भनाइ राख्नुभयो ।