• १२ मंसिर २०८१, बुधबार

भेरी अस्पतालमा ४१ जना घाइतेको उपचार जारी, सातको शल्यक्रिया

blog

भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्नुहुँदै प्रदेशमन्त्री पाण्डे । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २० गते । 
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले ४३ जना भूकम्पपीडित घाइतेलाई नेपालगन्ज ल्याइएकोमा एक जना निको भएर घर फर्किएको, एकजनाको ल्याउँदाल्याउँदै मृत्यु भएको र ४१ जनाको उपचार भइरहेको बताउनुभयो ।

उहाँले भेरी अस्पतालमा उपचाररत सात जनाको सफल शल्यक्रिया गरिएको जनाउँदै अहिले उनीहरूको अवस्था सामान्य रहेको बताउनुभयो । एक गर्भवती महिलाको बच्चा पेटमा नै मरेकाले उहाँको नर्मल डेलिभरी गराई मृत बच्चाको अन्तिम संस्कार गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

उता, भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले अहिले यहाँ उपचार भइरहेका ४१ जना घाइते सबैको स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाउँदै एक जनालाई आइसियुमा राखेर उपचार गरिए गरिएको जानकारी दिनुभयो । साथै उहाँको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ ।

घाइतेहरूलाई अस्पताल पुर्‍याउँदा छ जनाको अवस्था निकै गम्भीर रहेको जनाउँदै सूचना अधिकारी डा. रिसालले तर राम्रो उपचार पाएपछि उनीहरू पनि खतरामुक्त भएको बताउनुभयो ।

अस्पतालमा भर्ना रहनु भएका घाइतेहरूमा २३ महिला र २० जना पुरुष रहेकोमा १६ जना बालबालिका रहेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल अस्पतालमा रहनु भएका घाइतेमध्ये जाजरकोटका २७, पश्चिम रुकुमका १३ र सल्यानका एक जना हुनहुन्छ ।  आइतबार थप चार जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

यसैबिच लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री सन्तोष पाण्डेले भेरी अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

उहाँले सो अवसरमा उपचारमा कुनै पनि कमी हुन नदिने बताउँदै प्रदेश सरकारले पनि केन्द्र सरकारको हरेक कदममा साथ र सहयोग गर्ने बताउनु भएको थियो ।