• १२ साउन २०८१, शनिबार

राहत कार्य एकद्वार बनाइने, प्रमुखको ६ महिनाको तलब भूकम्पपीडितलाई

blog

जिल्ला प्रशासनमा बसेको विपद् व्यवस्थापन समितिको बैठक । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, कात्तिक २० गते ।
 विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले राहत तथा सहयोगलाई प्रभावकारी बनाउनका लागि एकद्वार नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

रुपन्देही प्रशासनले जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सङ्घसंस्था तथा सरोकारवालाहरूसँगको बैठक राखेर प्रचारमुखी र लोकप्रियताका लागि घोषणा गरिने राहतलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुर्‍याएको थियो ।

कार्यालयले स्थानीय सरकार, सङ्घ–संस्था तथा व्यक्तिले गर्ने सहयोगलाई जिल्ला प्रशासन कार्यालयमा सङ्कलन गरी स्थानीय प्रशासनमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको अभाव रहेको बुझिएकाले सोहीअनुरूपको राहत सामग्री सङ्कलन गरी पठाउन लागिएको बताउनुभयो ।

खाद्यान्न तथा अन्य राहत सामग्री पठाउनका लागि रुपन्देहीमा कार्यालयमा रहेका दुईवटा ट्रक र समितिले उपलब्ध गराउने चार वटा ट्रकमा तत्काल ती ट्रकबाट खाद्यान्न तथा लत्ताकपडा पठाउन लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

पहिलो चरणमा सियारी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका र बुटवल उपमहानगरपालिकाले सङ्कलन गरेको राहत सामग्री पठाउन लागिएको अर्यालले जानकारी दिनुभयो ।

उहाँले ब्लाङ्केट, म्याटरेस, दाल, चाम, तेल, आलु, चिनी, चिउरा, दालमोट, बिस्कुट र चाउचाउ पठाउन लागेको बताउनुभयो ।

एक ट्रक सामग्री बुटवल उपमहानगरपालिकाको संयोजनमा पठाउन लागिएको छ भने अर्को एक ट्रक सामग्री सियारी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन लागिएको छ ।

प्रमुखको ६ महिनाको तलब भूकम्पपीडितलाई

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले भूकम्प पीडितहरूको सहयोगका लागि आफूले पाउने छ महिनाको सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिमी पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै भूकम्प पीडितहरूको पुनर्स्थापन, गाँस, बास र कपास लगायतको व्यवस्थापनका लागि आफूले पाउने छ महिनाको सुविधा बराबर दुई लाख ३४ हजार रुपियाँ समान रूपमा दुवै जिल्लाको पीडितहरूको सहयोगार्थ प्रदान गर्ने नगरप्रमुख खानले बताउनुभयो ।

‘‘भूकम्पले मानवीय र भौतिक रूपमा धेरै क्षति पुर्‍याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ’’ उहाँले भन्नुभयो, ‘‘सोही भावनाअनुसार थोरै सहयोगले भए पनि पीडितहरूको ‘घाउमा मल्हम’ लगाउन पुगोस् भन्ने उद्देश्यले सुविधा बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हुँ ।’’

घोषणा गरिएको सुविधा बराबरको उक्त रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।