• १४ मंसिर २०८१, शुक्रबार

कोशीमा एमालेले विपक्षमा बसेर समर्थन गर्ने

blog

नेकपा (एमाले) का प्रमुख सचेतक रेवतीरमण भण्डारी ।

शशिधर पराजुली 

विराटनगर, कात्तिक २० गते । सहमति विपरीत गठबन्धनलाई सरकारमा समावेश गरेको भन्दै सरकारबाट बाहिरिएको नेकपा (एमाले) ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायम राख्दै प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गरेको छ । 

आज प्रदेश सभास्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विपक्षी बेञ्चमा बस्ने निर्णय गरेको हो । बैठकले सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत कायमै रहन्छ तर सत्ता पक्षमा नरहने निर्णय भएको छ ।’ एमाले संसदीय दलको बैठकमा कतिपय सांसदले सरकार गठन गर्दा समर्थन दिएको र विश्वासको मतसमेत दिएकाले सरकारमा सहभागी हुनुपर्ने मत राख्नुभएको थियो । 

संसदीय दलको बैठकमा बजेट अध्यादेशलाई पारित गर्ने, भूकम्प पीडितहरूको सहयोगका लागि पारिश्रमिकबाट योगदान गर्ने तथा बजार अभाव झेल्दैआएको दूधको नयाँ बजार खोजी गर्ने काममा सरकारलाई सहयोग गर्ने विषयमा छलफल भएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो ।