नागेन्द्रकुमार कर्ण
महोत्तरी, कात्तिक २० गते । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो । लुटेरा समूहको प्रतिकारमा उत्रँदा घरका चार जना घाइत समेत भएका छन् ।
लुटेराको समूह घरभित्र प्रवेश गरी घरका सदस्यहरुलाई कुटपिट र बन्धक बनाई लाखौंको धनमाल लुटेका छन् ।भुवनेश्वर चौधरीका छोरा जय किशोर चौधरीका अनुसार राति करिब १२ः३० बजे चार/पाँच जनाको समूहमा आएका लुटेराले घरका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको थिए भने घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।
लुटेरा समूहको कुटपिटबाट आफूसहित बुबा भुवनेश्वर चौधरी, आमा शैल देवी, श्रीमती सीमा चौधरी घाइते भएको छोरा जय किशोरले जानकारी दिनुभयो । लुटेरा समूहले नगद एक लाख, ४० तोला सुन, दुई किलो चाँदी, आइफोनसहित गरी ७० लाखभन्दा बढी लुटपाट गरेर लगेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लुटेराको समूह घर भित्र प्रवेश गरेर घरका सदस्यहरुलाई नियन्त्रणमा लिँदै लाखौं रकम लुटेर लगेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । प्रवक्ता गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।
घाइतेहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्किसकेको प्रवक्ता गिरीले बताउनुभयो ।