• ३ असार २०८१, सोमबार

जाजरकोट क्षेत्रमा भूकम्पको रौद्ररूप

blog

काठमाडौं, कात्तिक २० गते । शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम लगभग सकिएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र बनाएर शुक्रबार मध्यरातमा विनाशकारी भूकम्प गएको थियो । राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै धनजनको क्षति भएको छ ।

त्यस क्षेत्रमा उद्धारको काम लगभग सकिएकाले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित बनाइएको छ ।  पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्धार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको बताएका थिए ।

उक्त भूकम्पले नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहसहित १५७ जनाभन्दा बढीको मृत्यु भएको छ भने २५६ जना घाइतेकाे उपचार भइरहेकाे छ ।
उक्त भूकम्पमा परी सयौं घर क्षतिग्रस्त भएको छ भने हजारौं व्यक्ति विस्थापित भएका छन् । जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी अहिले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, जाजरकोटको भूकम्प प्रभावित बस्तीको अवस्था दर्दनाक र अत्यन्त पीडादायी छ, वर्णन गर्ने शब्द नै छैन, घर डलेका छन्, मानिस, बस्तु मरेका छन्, बाँच्नेको पनि अवस्था पीडादायक छ, साधारण पालमुनि चिसो रात कटाउनुपर्ने अवस्था छ, फाट्टफुट राहत वितरण भएको छ, आजबाट यसले गति पाउला ।’’

तस्बिर : सौजन्य डा. लोकविजय अधिकारी