• १२ साउन २०८१, शनिबार

भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

blog

जाजरकोटमा भूकम्प पीडितको राहत र उद्धारका लागि सरकारले गरेको कामको जानकारी गराउनुहुँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।

खलंगा, कात्तिक १९ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।

आइतबार विभिन्न राहत सामग्रीसहित मन्त्री र सांसद टोलीको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ भूकम्प प्रभावितको उद्धार, खानपिन, बसोबास, राहत तथा उपचारबारे जानकारी लिन जाजरकोट सदरमुकाम खलङ्गा आइपुग्नुभएको हो ।

यसैविषयमा उहाँले सुरक्षा संयन्त्र र जनप्रतिनिधिलाई सदरमुकाम र गाउँ दुबैतिर उत्तिकै परिचालित हुन समेत निर्देशन दिनुभयो ।


उपप्रधानमन्त्री श्रेष्ठले उद्धारको काम लगभग सकिएकाले अब राहत, बसोबास, खानपिन र उपचारमा केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो । पीडित र प्रभावित परिवारहरूले सरकारले तत्काल उद्धार पहल गरेर राज्य हुनुको अनुभूति दिलाएको बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् शनिबार बिहान जाजरकोट र पश्चिम रुकुम आएर सुरक्षाकर्मीसहित उद्धारमा खटिनुभएकोप्रति स्थानीयले उच्च सराहना गरेका थिए ।


पीडित र प्रभावितको समग्र जानकारी लिएपछि उपस्थितहरूलाई सम्बोधन गर्नुहुँदै  उपप्रधानमन्त्री श्रेष्ठले नगद एवम् जिन्सी राहत वितरण, खानपिन, बसोबास र उपचारमा कुनै कमी हुन नदिइने तथा पुनर्निर्माणको योजना तत्काल बनाइने समेत बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली यसपछि पश्चिम रुकुम पुग्नेछ । टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत हुनुहुन्छ ।