• २१ असार २०८१, शुक्रबार

भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

blog

उपत्यका अपराध अनुसन्धान कार्यालय ।

काठमाडौं, कात्तिक १९ गते । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट नौ जना र एक जनालाई उदयपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेन्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताउनुभयो । उहाँले अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनुभयो ।

एसएसपी राठौरले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरूमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष् श्रेष्ठ, काभ्रेपलान्चोकका जीवनराम तामाङ, काठमाडौँका साईरस विशंखे, काठमाडौँका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको बताउनुभयो ।

एसएसपी राठौरले अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष् श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार गिरोहले भिजिट भिसामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरूलाई थाहा समेत नभएको पाइएको छ । उहाँले विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरू बरामद गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सी.ले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरू बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।