• ११ मंसिर २०८१, मङ्गलबार

तत्कालीन प्रदेश सचिवसहित चारजनाविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, कात्तिक १९ गते । लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार, कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी-नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरेकोले प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपियाँ बदनियतपूर्वक हानि पुराएको आरोप लागेको छ । 

तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले ब्राण्डभन्दा कम गुणस्तर र फरक ब्राण्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको आरोप लागेको आयोगले जनाएको छ ।

यसैगरी, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थानका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम खरिद नगरी कम गुणस्तर र ब्राण्डको मिनिटिलटर वितरण गरेको आरोपमा बिगो एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।

आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।